ग्लासहाउस माउन्टेनबाट खसेर अष्ट्रेलियामा महिलाको मृत्यु
चैत १२, मेलबर्न, अष्ट्रेलिया । सनसाइन कोस्टस्थित ग्लासहाउस माउन्टेनमा आरोहणका क्रममा ४० मिटर तल खसेर एक पैदलयात्री महिलाको मृत्यु भएको छ। त्यस्तै, छुट्टै घटनामा २ पुरूष घाइते भएका छन्।
शनिबार दिउँसो १ः३० बजेपछि माउन्ट बिरवाहको पूर्वी तर्फबाट ती महिला चट्टानमा खसेकी थिइन्।
उनको साथीले प्राथमिक उपचार प्रदान गर्ने प्रयास गरेका थिए। तर, प्यारेमेडिक्सहरूले घटनास्थलमा पुगेर उनको मृत्यु भएको घोषणा गरेका थिए।
क्वीन्सल्याण्ड एम्बुलेन्स सेवा सञ्चालनका पर्यवेक्षक लेइटन एलेनले महिलाको मृत्यु दुःखद घटना भएको बताए।
अघिल्लो दिन प्यारासुट गर्दै गरेका ५० वर्षीय एक व्यक्ति माउन्ट बिरवाहबाट ३० मिटर खसेपछि उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो।
एलेनले ती व्यक्तिको खुट्टा, टाउको र छातीमा गम्भीर चोट लागेको बताएका छन्।
गम्भीर अवस्थामा उनलाई हेलिकप्टरबाट रोयल ब्रिस्बेन एण्ड वुमेन्स अस्पताल लगिएको थियो।
यसैबीच, २० वर्षका एक व्यक्ति बेलुका ५ बजेभन्दा ठीक अगाडि चिप्लिएर १० मिटर तल खसेपछि काँधमा चोट लागेको थियो ।
प्यारेमेडिक्सहरूले महिलाको शव निकाल्ने प्रयास गरिरहेको अवस्थामा सोही क्षेत्रमा तेश्रो व्यक्ति खसेको खबर पाएको बताएका छन्।
ती व्यक्तिलाई लाइफफ्लाइट हेलिकप्टरबाट स्थिर अवस्थामा सनसाइन कोस्ट युनिभर्सिटी अस्पताल लगिएको थियो। अहिले उनको अवस्था स्थीर रहेको बताइएको छ।