खुम्बुमा अस्ट्रेलियाली नागरिकको मृत्यु
चैत २१, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको ज्यान गएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२, रात्माटेमा ६३ वर्षीय अस्ट्रेलियाली नागरिक भ्यालेन्स फिलिप्स थोमसको सोमबार निधन भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ।
कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्ण दाहालका अनुसार आइतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट संखुवासभा जाने कार्यतालिका थियो। हिँड्दै गर्दा एक्कासी उकालो बाटोमा ढलेका उनको उपचारको क्रममा निधन भएको दाहालले बताए।
थोमससहित तीन अस्ट्रेलियाली नागरिक नेपाली पथप्रदर्शक योग्यबहादुुर कार्कीको नेतृत्वमा लुक्लाबाट मेरा पिक हुँदै संखुवासभाको तुम्लिङटारतर्फ अघि बढेका थिए। शवको कानुनी प्रक्रिया पूरा गरिएको छ। उनको शव भोलि मंगललबार हेलिकप्टरमार्फत पोष्टमार्टमका लागि काठमाडौँ लैजाने तयारी रहेको प्रहरीले जनाएको छ।