नियम नमान्दा इन्डोनेसियाबाट निकाला भइन् अष्ट्रेलियन पर्यटक
चैत २३, मेलबर्न, अष्ट्रेलिया। इन्डोनेसियाबाट एक अष्ट्रेलियन महिलालाई निकाला गरिएको छ। बाली घुम्न गएकी उनलाई नराम्रो व्यवहारको आरोपमा निकाला गरिएको हो।
उनले स्कुटर चलाउँदा हेल्मेट नलगाएको पाइइपछि २५ डलर जरिबाना तिराइएको थियो। तर, उनले प्रहरीमाथि अभद्र व्यवहार गर्दै चिच्याएकी थिइन्। त्यसपछि उनलाई देश निकाला गरिएको हो। अहिले यो घटनालाई निमय नमान्दा हुने परिणामको रूपमा चित्रित गरिएको छ।
मारिटा डेनियललाई गत महिना उत्तरी कुटाको एक सडकमा हेलमेट नलगाएको कारण एक अधिकारीले केरकार गरेको भिडियोमा देखिएको थियो।
भिडियोमा उनी पुलिस अफिसरबाट उम्कन खोजेकी देखिन्छिन् तर अन्य पुलिसहरूले घेरेपछि उनि रोकिन बाध्य हुन्छिन्।
पुलिसले उनलाई नियम पालना गर्न भन्दा उनी आक्रोशित भएको देखिएको छ।
हेलमेट नलगाउँदा २ लाख ५० हजार इन्डोनेसियाली रुपिया वा लगभग २५ डलर जरिवाना हुने नियम रहेको छ।
हिजो जारी गरिएको विज्ञप्तिमा इन्डोनेसियाका अध्यागमन महानिर्देशक सिल्मी करिमले समस्याग्रस्त विदेशीहरूको उपस्थितिमा अध्यागमन अधिकारीहरू चुप लागेर नबस्ने प्रष्ट पारेका थिए।
उनले विगत तीन महिनामा इन्डोनेसियाबाट ६२० विदेशीहरू निकाला गरिएको पनि उल्लेख गरेका छन्।
यस हप्ताको सुरुमा बाली प्रान्तको क्षेत्रीय जन विधायिका परिषद्का अध्यक्ष न्योमन आदि विर्यातामाले पर्यटकहरूले दुर्व्यवहार गरेकोमा दुःख व्यक्त गरे।