अष्ट्र्रेलियामा बालिकालाई अपहरण गरेर १८ दिन बन्धक बनाउने व्यक्तिलाई १३ वर्ष ६ महिनाको जेल सजाय
चैत २३, मेलबर्न, अष्ट्रेलिया । पश्चिमी अष्ट्रेलियाको दुर्गम शिविरबाट चार वर्षीया बालिकालाई अपहरण गरेको अभियोगमा एक व्यक्तिलाई १३ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ।
३७ वर्षीया टेरेन्स केली गत वर्ष अक्टोबर २०२१ मा आफ्नो परिवारको टेन्टबाट क्लियो स्मिथलाई लिएर गएकोमा दोषी स्वीकार गरेका छन्।
प्रहरीको व्यापक खोजीपछि क्लियो १८ दिनपछि केलीको घरमा फेला परेका थिए। क्लियो र केलीको घर केही मिनेटको फरकमा मात्रै पर्छ।
केलीलाई तत्काल गिरफ्तार गरिएको थियो। उनले केही समयपछि मात्रै बालक अपहरण गरेको स्विकारेका थिए।
पर्थ जिल्ला अदालतमा सजाय सुनाउँदै मुख्य न्यायाधीश जुली वागरले अपराधले “उच्च स्तरको गम्भीरता” देखाएको टिप्पणी गरेका छन्।
केलीले प्यारोलको लागि योग्य हुनु अघि ११ वर्ष बढी जेल बस्नु पर्नेछ।
केलीले क्लियोलाई आफ्नो घरमा बाहिरबाट लक गर्न मिल्ने ढोका भएको बेडरूममा १८ दिन घरभित्रै राखेको अदालतमा बताएका छन्। उनले क्लियोको आवाज बाहिर नसुनियोस् भनेर रेडियो अन गरेको पनि पाइएको छ।