क्विन्सल्याण्डमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने प्रक्रियामा परिवर्तन गर्ने तयारी


चैत २८, मेलबर्न, अष्ट्रेलिया । क्विन्सल्याण्डमा सवारी चालकहरूले अनुमतिपत्र(लाइसेन्स)का लागि नयाँ कोर्ष पुरा गर्नुपर्ने संभावना देखिएको छ।

अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको सरकारले नयाँ सडक सुरक्षा उपायहरू लागू गर्ने र त्यसका लागि चालकहरूलाई ड्राइभिङको लागि आवधिक “रिफ्रेसर कोर्स” मा सहभागी हुनु पर्ने नियम ल्याउने तयारी गरेको हो।

तर, यातायात मन्त्री मार्क बेलीले भने चालकहरूलाई उनीहरूको इजाजतपत्र नवीकरण गर्न जाँदा सडक नियमहरूको ज्ञानको लागि परीक्षण गरिने सुझावहरूलाई अस्वीकार गरेका छन्। तथापी, क्विन्सल्याण्डमा बढ्दो सवारी दुर्घटना र मृत्युको संख्या कम गर्न केही आवश्यक रहेको उनले बताएका छन्।

उनले प्रस्तावित “अनलाइन रिफ्रेसर कोर्स” ले चालकहरूलाई इजाजतपत्र नवीकरणका लागि आवेदन दिनुअघि सडक नियममा गरिएका परिवर्तनहरूबारे सिकाउने बताए।

उनले पाँच वर्षको अवधिमा धेरै नियमहरू परिर्तन हुने र ती नियमहरूको बारेमा सवारी चालक जानकार हुनुपर्ने बताए। क्विन्सल्याण्डमा अधिकतम पाँच वर्षमा सवारी चालक अनुमतिपत्र नवीकरण गरिसक्नुपर्छ।

यो प्रस्ताव सन् २०२२ मा क्वीन्सल्याण्डको सडकमा २९९ जनाको ज्यान गएपछि आह्वान गरिएको जनवरी गोलटेबलको नतिजा हो।

२०२३ को अप्रिल २ सम्म क्विन्सल्याण्डमा भएका सडक दुर्घटनामा ६० जनाको ज्यान गइसकेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?