प्रधानमन्त्री अल्बानीजले नेटोको शिखर सम्मेलनमा भाग नलिने
चैत ३०, मेलबर्न, अष्ट्रेलिया। प्रधानमन्त्री एन्थोनी अल्बानीजले यस वर्ष लिथुआनियामा हुने नेटो शिखर सम्मेलन गुमाउने भएका छन्। अष्ट्रेलियामा एक रिपोर्टले प्रधानमन्त्री अल्बानीज नेटो शिखर सम्मेलनमा सहभागी हुन नसक्ने दाबी गरेको हो।
आज बिहान एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री पेनी वोङले पश्चिमी सैन्य गठबन्धनको जुलाई शिखर सम्मेलनमा अल्बानीजले भाग नलिने भन्ने सिड्नी मर्निङ हेराल्ड र द एजका रिपोर्टहरूमा टिप्पणी गर्न अस्वीकार गरेकी छन्।
गत हप्ता नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले गैर-सदस्य राष्ट्रहरू अष्ट्रेलिया, जापान, कोरिया र न्यूजील्याण्डका नेताहरूलाई दोस्रो पटक सम्झौताको वार्षिक भेलामा आमन्त्रित गरिने बताएका थिए।
यसबारे प्रधानमन्त्रीको कार्यालयबाट आधिकारिक धारणा आएको छैन। परराष्ट्रमन्त्री समेत रहेकी वोङले यसबारे छिट्टै आधिकारिक घोषणा गर्ने अपेक्षा गरेकी छिन्।
पहिलो पटक लिथुआनियामा आयोजना हुने सम्मेलन गठबन्धनको सामूहिक रक्षा र प्रतिरोधलाई सुदृढ पार्ने र युक्रेनलाई समर्थन बढाउनमा केन्द्रित हुने नेटोले जनाएको छ।
यसवर्ष रूससँग ठूलो विमती जनाउँदै फिनल्याण्ड पनि नेटोमा सामेल भएको छ। नार्डिक देशको सदस्यताले विश्वको सबैभन्दा ठूलो सुरक्षा गठबन्धनसँग रूसको सीमा दोब्बर बनाएको छ।
चीनले रुससँगको सम्बन्धलाई मजबुत बनाएर इन्डो–प्यासिफिक क्षेत्रमा प्रभाव पार्ने क्रम तीव्र बनाइरहँदा नेटोको शिखर सम्मेलन हुनेछ।
तर, आगामी महिनामा प्रधानमन्त्री अल्बानीजको व्यस्त विदेश भ्रमण तालिका रहेका कारण उनी नेटोको सम्मेलनमा सामेल हुन नसक्ने आँकलन गरिएको छ।
अल्बानीज आगामी महिनाहरूमा बेलायत, जापान, सिंगापुर, भारत, अमेरिका र बेइजिङ भ्रमणमा जाने सम्भावना रहेको छ। प्रधानमन्त्री अल्बानीज राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागि हुने निश्चित भइसकेको छ।