क्वीन्सल्याण्डमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका व्यक्ति सेनाका पूर्व अधिकारी भएको पुष्टि


वैशाख ११, मेलबर्न, अष्ट्रेलिया । क्वीन्सल्याण्डमा प्रहरीले अफिसरहरूमाथि चक्कु लिएर आक्रमण गरेपछि गोली हानेर मारिएका एक व्यक्ति सेनाका पूर्वअधिकारी रहेको पुष्टि भएको छ।

एक व्यक्तिले आत्म-हानिको धम्की दिएको रिपोर्ट पछि शुक्रबार बेलुका करिब ५ बजेतिर टाउन्सभिलको किरवानको बेल एयर एभिन्यूमा रहेको घरमा प्रहरी बोलाइएको थियो।

मानसिक स्वास्थ्य मामिलाको लागि एउटै घरमा पुलिस बोलाइएको यो दोस्रो पटक थियो। प्रहरीले उक्त दाैरान वरपरका सडकहरू बन्द गरेको थियो।

प्रहरीले गोली हानेर ज्यान गुमाउने व्यक्ति ५२ वर्षीय आर्मी भेटरान स्टिभेन एङ्गस भएको पुष्टि भएको छ।

टाउन्सभिल प्रहरीका कार्यवाहक प्रमुख सुपरिटेन्डेन्ट क्रिस लसनले ती व्यक्ति चक्कु लिएर  प्रहरीहरू नजिक पुग्नु अघि ती व्यक्तिसँग कुरा गरेको बताएका छन्।

तर, उनी थप आक्रामक बन्दै गएपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर घाइते भएका व्यक्तिलाई प्राथमिक उपचार घटनास्थलमा नै दिइएको थियो। तर, उनको ज्यान भने बचाउन नसकिएको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?