धनगढीको एसपीए क्याम्पसका प्राध्यापक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ
वैशाख ११, कैलाली । धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसका एक प्राध्यापक यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन्। एसपीए क्याम्पसमा प्ल्सटु अन्तर्गत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। छात्राहरूलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुरा गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो।