सिड्नीको एक अस्पतालको पार्किङ एरियामा २ महिलाको मृत्यु


वैशाख १५, मेलबर्न, अष्ट्रेलिया । सिड्नीको एक अस्पतालको पार्किङ एरियामा २ महिलाको मृत्यु भएको छ। पार्किङ एरियामा नै भएको सवारी दुर्घटनामा २ महिलाको मृत्यु भएको हो।

किंग्सवुडस्थित नेपियन अस्पतालमा कारले अर्को गाडीमा ठक्कर दिएपछि ४० वर्षीया पैदलयात्रीको मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानबाट गाडी चालक ६० वर्षीया महिलाको स्वास्थ्यमा खराबी भएको बुझिएको छ।

बिहीबार दिउँसो ३ः२० बजे घटना भएलगत्तै प्रहरी र स्वास्थ्यकर्मी घटनास्थलमा पुगेका थिए। घटनास्थलमा पुगेका प्यारामेडिक्सको टोलीले महिलाहरूको तत्काल उपचार सुरू गरेका थिए। तर पनि उनीहरूको ज्यान भने जोगाउन सकेनन्।

दुर्घटनामा कारमा सवार अर्की एक महिला भने सकुशल रहेको बताइएको छ। ३० वर्षकी ती महिलालाई अस्पतालका कर्मचारीहरूले अनिवार्य प्राथमिक उपचार गरेका थिए।

प्रहरीले यस घटनाबारे अनुसन्धान सुरू गरेको जानकारी दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?