इराकको राजधानी बग्दादको उत्तरी क्षेत्रस्थित सदर बजारमा बुधबार कारबम विस्फोट हुँदा कम्तिमा ६४ जना मारिएका छन् । विस्फोटमा परी अरु ८७ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
शियाहरुको बाहुल्य रहेको सहरमा बिहानको व्यस्त समयमा विस्फोट गराइएको थियो । विस्फोटका कारण आसपासका भवन र सवारी–साधन ध्वस्त भएका छन् ।
इराकको उत्तरी र पश्चिमी क्षेत्र सुन्नी समूहको नियन्त्रणमा छ भने शियाहरु आक्रमणको निशानामा पर्दै आएका छन् ।
शिया मिलिसियाहरुलाई लक्षित गरी आक्रमण गरेको भन्दै ‘आइएस’ले विस्फोटको जिम्मेवारी लिएको छ ।
आइएसले लगाताररुपमा औद्योगिक क्षेत्र, सरकारी र सुरक्षाकर्मीमाथि आक्रमण गर्ने गरेको छ ।