भेनेसा हडसन क्वान्टासको पहिलो महिला सीईओ बन्दै


वैशाख १९, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलियाको फ्ल्यागशिप एयरलाइन क्वान्टासले आफ्नो प्रमुख वित्तीय अधिकारी भेनेसा हडसनले वर्तमान सीईओ एलन जोयसलाई प्रतिस्थापन गर्ने घोषणा गरेको छ।

नोभेम्बरमा पदभार ग्रहण गर्दा उनी क्वान्टासको पहिलो महिला प्रमुख बन्नेछिन्।

कोभिड-१९ को समयमा व्यहोरेको ठूलो घाटा र ब्रान्डलाई नोक्सान पुर्‍याएका विवादहरूको शृङ्खलासँगै एयरलाइन्सले हालैका समयमा समस्या भोगिरहेको छ।

सन् १९९४ मा क्वान्टासमा जोडिएकी हडसनले एयरलाइन्सको प्रतिष्ठा पुनर्स्थापनालाई प्राथमिकताको रूपमा पहिचान गरेको बताएकी छन्।

पत्रकारहरूसँग कुरा गर्दै, उनले आफ्नो ऐतिहासिक नियुक्ति “एक पूर्ण सम्मान” भएको बताइन्।

उनले एयरलाइनलाई असाधारण कम्पनीको रूपमा प्रशंसा गर्दै यसलाई पहिलेको प्रतिष्ठाकै स्तरमा पुर्नस्थापित गर्न धेरै कडा काम गर्ने वाचा पनि गरेकी छन्।

गत वर्ष रद्द गरिएका उडानहरू, सामान हराएको र ढिलाइका कारण क्वान्टासको कडा आलोचना भएको थियो। तर, यो वर्षको सुरूवाति पाँच महिनामा नै क्वान्टासले १.४ बिलियन डलर कमाउन सफल भएको छ।

उनले जोयसको कार्यकालमा तनावपूर्ण सम्बन्ध पछि आपसी विश्वासको भावनामा उड्डयन युनियनहरूसँग रचनात्मक सम्बन्ध निर्माण गर्न खोज्ने बताइन्।

अध्यक्ष रिचर्ड गोयडरले निवर्तमान सीईओ जोयसले उनको कार्यकालमा राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन्। उनले आफ्नो १५ वर्षे कार्यकालमा २००८ को आर्थिक संकट, महामारी र तेलको मूल्य वृद्धि लगायतका चुनौतीहरूको बाबजुद उत्कृष्ट काम गरेको बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?