अष्ट्र्रेलियामा कान्छो बच्चा १४ वर्ष नभएसम्म एकल-अभिभावकले आर्थिक सहयोग पाउने
वैशाख २६, मेलबर्न, अष्ट्रेलिया। अष्ट्र्रेलियामा कान्छो बच्चा १४ वर्षको हुने बेलासम्म एकल-अभिभावकले पाक्षिक भुक्तानी पाउने भएका छन्। प्रधानमन्त्री एन्थोनी अल्बानिजले सोमबार यसबारे पुष्टि गरेका हुन्।
बजेट कार्यक्रमको पूर्वसन्ध्यामा बोल्दै उनले सरकारले भोलिको बजेटमा जनतालाई दैनिक खर्च धान्न सहज बनाउने उपायहरु सार्वजनिक गर्ने बताएका छन्।
हालको नियमहरू अन्तर्गत भुक्तानी प्राप्त गर्ने एकल अभिभावकहरू उनीहरूको कान्छो बच्चा आठ वर्षको नभएसम्म भुक्तानीको लागि योग्य मानिन्छन्।
गत वर्ष गठन गरिएको संघीय सरकारको कार्यदलले अधिकतम उमेर १६ वर्ष तोक्न सिफारिस गरे पनि प्रधानमन्त्रीले १४ वर्षको उमेरलाई ‘सही सन्तुलन’ भनेका छन्।
“१४ वर्ष त्यो अवधि हो जसमा एक विद्यार्थीले बढी स्वतन्त्रता प्राप्त गर्न थाल्छ । उसलाई घरमा साना बच्चाले जस्तै समर्थनको आवश्यकता पर्दैन,” अल्बानीजले भनेका छन्, ‘आठ धेरै कम थियो। १४ वर्ष उमेरको बालक आजको संसारमा प्रवेश गर्न थाल्छ।’
आमाबाबुले आफ्नो कान्छो बच्चा १४ वर्ष नपुग्दासम्म प्रति १५ दिन ९२२.१० डलरका दरले आर्थिक सहायता प्राप्त गर्नेछन्। आज घोषणा गरिएको परिवर्तन अनुसार जबसिकर भिसामा रहेका हाल योग्य एकल अभिभावकहरूले प्रति १५ दिन १७६.९० का दरले भुक्तानीमा वृद्धि प्राप्त गर्नेछन्।
यो परिवर्तनले आगामी २ वर्षमा १.९ बिलियन डलर खर्च हुने बताएका छन्।
उमेर सीमा हटाउँदा कम्तिमा ५७ हजार एकल प्रमुख हेरचाहकर्ताहरूलाई थप आर्थिक सहयोग उपलब्ध हुनेछ। जसमा ९० प्रतिशत एकल आमा रहेका छन्।