पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ


वैशाख २६, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन्। उनलाई पाकिस्तानी प्यारामिलिटरी फोर्सले इस्लामावादस्थित उच्च अदालत बाहिरबाट पक्राउ गरेको हो।

इस्लामाबाद प्रहरीको आधिकारिक ट्विटर अकाउन्टका अनुसार इमरान खानलाई अल कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको हो । इमरान खान आफूविरुद्ध दर्ता भएको मुद्दामा जमानत लिन अदालत पुगेका थिए।

इमरान खानले आईएसआई अधिकारीले आफ्नो हत्याको योजना बनाएको आरोप लगाएका थिए। तर, यसको सोमबार पाकिस्तानी सेनाले इमरान खानको आरोपको निन्दा गरेको थियो र आरोपहरूलाई ’अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेको थियो। त्यसको एक दिनपछि मंगलबार उनलाई पक्राउको खबर बाहिर आएको छ।

इमरान खानको आरोपबारे सेनाको मिडिया शाखा ’इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स’ (आईएसपीआर) ले भनेको छ, ‘इमरान खानको मनगठित र दुर्भावनापूर्ण आरोपहरू अत्यन्त दुर्भाग्यपूर्ण, निन्दनीय र अस्वीकार्य छन्। विगत एक वर्षदेखि सेना र गुप्तचर निकायका अधिकृतलाई राजनीतिक उद्देश्यका लागि निशाना बनाउँदै आरोप–प्रत्यारोप लगाइँदै आएको छ।’

गत शनिबार एक ¥यालीमा इमरान खानले इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) का अधिकारी मेजर जनरल फैसल नसीरले आफूलाई मार्ने योजना बनाएको आरोप लगाएका थिए।

७१ वर्षीय इमरान खानले यसअघि गत वर्ष नोभेम्बरमा पञ्जाब प्रान्तको वजिराबादमा प्रधानमन्त्री शेहबाज शरीफ र आन्तरिक मन्त्री राणा सनाउल्लाह र जनरल नसिरमाथि आफ्नो हत्याको प्रयास गरेको आरोप लगाएका थिए। यस आक्रमणमा उनको खुट्टामा तीनवटा गोली लागेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?