सगरमाथामा अष्ट्रेलियाका आरोहीको मृत्यु


जेठ ८, काठमाडाैँ । सगरमाथामा एक जना अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ । ८००० भन्दा माथिको उचाइमा एक अष्ट्रेलियाली आरोहीको मृत्यु भएको आयोजकले पुष्टि गरेको छ ।

एसियाली ट्रेकिङका प्रबन्ध निर्देशक दावा स्टिभन शेर्पाले अष्ट्रेलियाका ४० वर्षीय जेसन बर्नार्ड केनिसनले मे १९ मा समिट पोइन्टबाट फर्कने क्रममा अन्तिम सास फेरेको बताएका छन् ।

दुई शेर्पा गाइडसँगै रहेका जेसनले साउथ समिटबाटै असामान्य व्यवहार देखाउन थालेपछि शेर्पा गाइडले उनलाई बाल्कनी क्षेत्रमा ल्याएका थिए ।

उनीहरूको साथमा रहेको अक्सिजन सकिएपछि अत्यधिक हावाका कारण चाैथो क्याम्पबाट ल्याउन सकिएको थिएन । त्यस्तै, मृतक जेसनले शेर्पासँग हिड्न समेत नमानेका कारण उनको मृत्यु भएको बताइएको छ ।

२००६ मा सडक दुर्घटनामा परेपछि उनका शरीरका धेरै हड्डी भाँचिएका थिए । धेरै वर्षको आराम गरेपछि उनि हिड्न डुल्न सक्ने भएका थिए ।

उनले अष्ट्रेलियामा स्पाइनल कर्ड इन्जुरी भएकाहरूलाई सहयोग पुर्याउनका लागि एक कोष खडा गर्ने लक्ष्य राखेका थिए ।

यस सिजनमा सगरमाथामा १० जनाको मृत्यु भएको छ। उच्च शिविरमा दुई पर्वतारोही अझै बेपत्ता छन् ।

सगरमाथामा मलेसियाका हवारी बिन हासिम तथा भारतीय मूलका सिंगापुरी नागरिक श्रीनिवास सैनिस दत्तात्रय बेपत्ता छन् । श्रीनिवास भने ८५०० मिटरको उचाइबाट तिब्बतीयन क्षेत्रमा खसेको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?