चोरीको ट्रकले ठक्कर दिँदा क्विन्सल्याण्डमा ४ प्रहरी घाइते, दुईको अवस्था गम्भीर
जेठ ११, मेलबर्न, अष्ट्रेलिया। क्विन्सल्याण्डको टुउम्बा नजिकै चोरीको ट्रक रोक्न खोज्दा चार प्रहरी घाइते भएका छन्।
बुधबार दिउँसो करिब १ः३० बजे मेरिङ्गन्दन पश्चिमको गुम्बुन्जी मेरिङ्गन्दन रोडमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँदा दुई जना अधिकारी गम्भीर घाइते भएका छन् ।
४५ वर्षीय प्रहरीको खुट्टामा गम्भीर चोट लागेपछि उनलाई हेलिकप्टरमार्फत अस्पताल लगिएको थियो। त्यस्तै, गम्भीर घाइते भएका अर्का ५६ वर्षीय अधिकारीलाई सेन्ट भिन्सेन्ट अस्पतालमा पुर्याइएको थियो।
ट्रकले नजिकैको क्लिन्टनमा थप दुई प्रहरी कारलाई ठक्कर दिँदा अन्य दुई अधिकारीलाई सामान्य चोट लागेको थियो। ट्रकमा एक मात्र व्यक्ति रहेको र चोरीको आरोपमा उनलाई पक्राउ गरिएको छ।
सुपरिटेन्डेन्ट डगलस म्याकडोनाल्डले अभियुक्तलाई प्रहरीले पहिचान गरेको बताएका छन्। म्याकडोनाल्डले उक्त ट्रक बुधबार बिहान मात्र ओकीकोबाट चोरी भएको रिपोर्ट गरिएको जानकारी दिए।