अमेरिकामा आतंकवाद विरुद्धको एक विधेयक पारित, साउदी अरबबाट लगानी फिर्ताको चेतावनी


Barack Obamaअमेरिकी सिनेटले आतंकवादको प्रायोजक विरुद्ध मुद्दा हाल्न सक्ने प्रावधानसहितको विधेयक पारित गरेको छ । विधेयकले कानूनको रुप लिएमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणका पीडित साउदी सरकारबिरुद्ध अदालतमा मुद्दा हाल्न सक्ने छन् ।

आतंकवादको प्रायोजक बिरुद्धको न्यायसम्बन्धी यस विधेयक अब हाउस अफ रिप्रेजेन्टेटीभमा पठाइने छ । प्रतिनिधि सभाबाट पनि पारित भएमा यसले कानूनको रुप लिनेछ । तर संसदले विधेयक पारित गरेपनि राष्ट्रपति बाराक ओबामाले यसविरुद्ध भिटो अधिकार प्रयोग गर्न सक्ने बिबिसीले जनाएको छ । डेमोक्रेट सांसदले भने राष्ट्रपतिलाई भिटो प्रयोग गर्नबाट रोक्ने दावी गरेका छन् । साउदी अरबले भने यो कानून पारित गरे अमेरिकासँगको आफ्नो लगानी फिर्ता गर्ने चेतावनी दिएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा ओसामा बिन लादेन नेतृत्वको विद्रोही संगठन अलकायदाले अमेरिकाको वल्र्ड ट्रेड सेन्टर र पेन्टागनमा आक्रमण गरेको थियो । आक्रमणमा झण्डै ३ हजार जनाको ज्यान गएको थियो । आक्रमणमा प्रयोग भएको विमान अपहरण गर्ने १९ जनामध्ये १५ जना साउदी अरबका नागरिक थिए । साउदी अरब सरकाले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?