वेस्टर्न अष्ट्रेलियाका प्रिमियरले गरे राजिनामाको घोषणा


जेठ १५, मेलबर्न, अष्ट्रेलिया । वेस्टर्न अष्ट्रेलियाका प्रिमियर मार्क म्याकगोवानले छ वर्ष राज्यको उच्च पदमा रहेपछि रकिङ्घमका लागि प्रिमियर र सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

उनले अब थकित भएको बताउँदै राजिनामाको घोषणा गरेका हुन्। म्याकगोवानले पर्थमा पत्रकार सम्मेलन गर्दै राजिनामाको औपचारिक घोषणा गरेका हुन्।

राजिनामाको घोषणासँगै कार्यालयमा म्याकगोवानले यो नै अन्तिम हप्ता बिताउने भएका छन्।

“आज म घोषणा गर्दैछु कि म प्रिमियर र रकिङ्घमको सदस्यको पद छोड्दैछु,” म्याकगोवानले विज्ञप्ती पढेर सुनाएका छन्।

“म मार्च २०१७ मा पश्चिमी अष्ट्रेलियाको प्रिमियरमा निर्वाचित भएको थिए। अहिले छ वर्ष भन्दा बढी भइसकेको छ। त्यो भन्दा पहिले मैले छ वर्ष भन्दा बढी विपक्षी नेताको रूपमा सेवा गरें।” उनले भनेका छन्, “मलाई मनपर्ने कामबाट बिदा लिने यो सही समय हो।”

म्याकगोवानले लेबरले अर्को राज्यको चुनाव जित्नेमा विश्वस्त भएकाले आफूले आंशिक रूपमा राजीनामा दिएको पनि उल्लेख गरेका छन्। उनले सोही सम्मेलनमा केही समयअघि देखि नै पद छोड्ने र विश्राम लिनेबारे सोचिरहेको पनि खुलासा गरेका छन्।

राजनीतिज्ञले आफ्नी पत्नी सारा र तीन छोराछोरी – शमूएल, अलेक्ज्याण्डर र अमेलियालाई वर्षौंदेखि उनीहरूको समर्थनको लागि धन्यवाद दिएका छन्।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले उनले कार्यकालमा गरेको कामको प्रशंसा गर्न र सेवानिवृत्ति जीवनका लागि बधाई दिन म्याकगोवानसँग कुरा गरेको ट्विटरमार्फत जानकारी गराएका छन्।

२०२१ मा ऐतिहासिक राज्य चुनाव जित्दै दोश्रो कार्यकाल राज्यको नेतृत्व गरेका थिए। उनले चुनावको दाैरान बहुमत सरकारको रूपमा शासन गर्न आवश्यक भन्दा २३ सीट बढी जितेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?