मेलबर्नको अपार्टमेन्टमा मृत महिलासँग एक बालक फेला
जेठ १९, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको एक अपार्टमेन्टबाट एक बालकलाई महिलाको शवसँगै एक्लै फेला परेपछि प्रहरीले लगेको छ। प्रहरीले ती महिला बालकको आमा हुनसक्ने अनुमान गरेको छ।
उनी कति समयसम्म उनको शवसँग एक्लै बसेका थिए भन्ने स्पष्ट भएको छैन। तर, छिमेकीले दुई दिनअघि भवन व्यवस्थापनलाई उनीहरूको अवस्थाबारे ध्यानाकर्षण गराएका थिए।
प्रहरीले बुधबार बिहान वेरिबीको एउटा अपार्टमेन्टमा सुरक्षा जाँच गरेको थियो। सोही क्रममा मृत महिला र उनको साथमा एक बालक फेला परेका हुन्।
उनको मृत्युको कारण अझै थाहा छैन। यद्यपी भिक्टोरिया प्रहरीले उनको मृत्युमा केही शंकास्पद अवस्था नदेखिएको बताएको छ।
“महिलाको मृत्यु वरपरको वास्तविक परिस्थितिको बारेमा अनुसन्धान जारी छ,” प्रहरीले भनेको छ।
भिक्टोरिया एम्बुलेन्सले प्रि-स्कुल उमेरका बालकलाई सकुशल अवस्थामा अस्पताल लगेको पुष्टि गरेको छ। प्रहरीले उनलाई फेला पार्दा उनी सकुशल थिए। अहिले आफन्तहरूले हेरचाह गरिरहेका छन्।