५९ यात्रु र १० चालक दलका सदस्य सवार इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त


Plan

फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको राजधानी कायरो उडेको इजिप्ट एयरको विमान दुर्घटनाग्रस्त भएको छ ।

फ्रान्सका राष्ट्रपति फ्रान्सिस ओलान्डले फ्लाइट एमएस ८०४ को विमान दुर्घटनाग्रस्त भएको बताएका हुन् । विमानमा ५९ यात्रु र चालक दलका १० सदस्य छन् । कायरोको स्थानीय समय अनुसार बिहान २ः४५ बजे बिमानको राडारसँग सम्पर्क टुटेको थियो । बिमान ३७ हजार फिट माथि उडिरहेको बेला एक्कासी राडारसँग सम्पर्कविहीन भएको एयरलाइन्सले जनाएको थियो ।

राष्ट्रपति ओलान्डका अनुसार हालसम्म प्राप्त सबै सूचनाका आधारमा उक्त विमान दुर्घटनामा परेको पुष्टि भएको बताएका छन् । उनको अनुसार अहिले भूमध्य सागरमा विमानको खोजी भइरहेको छ ।

विमान बुधबार राति ११ बजेर ९ मिनेटमा पेरिसबाट उडेको थियो । बिहीबार बिहान ३ बजे कायरो बिमानस्थल आइपुग्नुपर्ने बिमान १५ मिनेट अगाडी सम्पर्कविहीन भएको हो ।

एयरलाइन्सका अनुसार इजिप्टको हवाई क्षेत्रमा १६ किलोमिटर छिरिकेपछि विमान सम्पर्कविहीन भएको हो ।

यसैबीच दुर्घटनाग्रस्त भएको दाबी गरिएको इजिप्ट एयरका केही टुक्राहरु दक्षिणी भूमध्य सागरमा फेला पारिएको ग्रीक अधिकारीहरुले बताएका छन् । विमानको खोजीकार्य संलग्न अधिकारीहरुले उक्त जानकारी दिएको ‘ग्रीक राज्य टिभी’ले जनाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।

यसअघि ग्रीक अधिकारीहरुले क्रेटेद्विपबाट २३० माइल दक्षिणमा दुईवटा ‘लाइफ ज्याकेट’ भेटिएको बताइएको थियो । जुन विमानकै हुन सक्ने उनीहरुले अनुमान गरेका थिए ।

यस्तै ग्रिसका रक्षामन्त्री पानोस कामेनोसले विमान राडारबाट हराएर सम्पर्क विच्छेद हुनुअघि ९० डिग्री बायाँतर्फ मोडिएर फेरी ३६० डिग्री मोडिएर २५०० फिट तल झरेको बताएका थिए ।

अहिले विमानको टुक्राहरू भेटिएको स्थानमा ग्रिस र इजिप्टका जलसेनाले खोजि गरिरहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?