अष्ट्रेलियामा आफ्नै चार सन्तानको हत्या गरेको अभियोगमा जेल परेकी आमा २० वर्षपछि जेलमुक्त, निर्दोष सावित हुनसक्ने
जेठ २३, मेलबर्न, अष्ट्रेलिया। क्याथलीन फोलबिगलाई उनका चार सन्तानको मृत्युको अभियोगमा माफी दिइएको छ। नयाँ वैज्ञानिक प्रमाणहरूले उनको दोषी फैसलामा शंका खडा गरेपछि ढिलाइ नगरी रिहा गरिएको हो।
५५ वर्षीय फोलबिगलाई सन् १९८९ देखि १९९९ सम्म आफ्ना चार सन्तान प्याट्रिक, सारा, लौरा र जेठा छोरा कालेबको हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।
तत्कालिन समयमा उनका बच्चाहरू १९ दिनदेखि १९ महिनासम्मका थिए।
उनलाई २० वर्षको जेल सजाय सुनाइएको थियो। अब उनको सजायलाई फाैजदारी पुनरावेदन अदालतले मात्र उल्टाउन सक्ने बताइएको छ।
जेलमुक्त भएको केही घण्टामा नै फोलबिग उत्तरी न्यु साउथ वेल्समा फार्म सञ्चालन गर्ने उनकी साथी ट्रेसी च्यापम्यानलाई भेट्न पुगेकी थिइन्।
क्याथलिन फोलबिगले आफ्ना छोराछोरीको प्राकृतिक कारणले मृत्यु भएको दाबी सुरूदेखि नै गरेकी छिन्। उनले यही अभियोगमा २५ वर्ष जेल सजाय कटाउनु पर्ने थियो। अहिले उनी २० वर्षपछि तत्कालका लागि जेलमुक्त भएकी छन्।
न्यु साउथ वेल्सका महान्यायाधिवक्ता माइकल डेलीले फोलबिगलाई उनको कठिन अनुभव स्वीकार गर्दै माफीको घोषणा गरेका छन्। यदि सजायहरू उल्टिएमा उनले सरकारलाई मुद्दा हाल्ने सम्भावना पनि छ। जुन माफी भन्दा बाहिरको कानुनी कदम हो।
डेलीले बच्चाको मृत्युको बारेमा अनुसन्धान गर्दा नयाँ आनुवंशिक प्रमाणहरू देखा परेका कारण आज र विगतमा भिन्नता रहेको बताएका छन्।
न्यु साउथ वेल्सका पूर्व प्रधानन्यायाधीश टम बाथर्स्ट केसी हाल गभर्नरको लागि अन्तिम रिपोर्टमा काम गरिरहेका छन्। उक्त रिपोर्ट यसै महिनामा सम्पन्न हुने अपेक्षा गरिएको छ।
बाथर्स्टले शुक्रबार डेलीलाई मेमो पठाएका छन्। उक्त मेमोमा बाथर्स्टले फोल्बिगको अभियोगको फैसलामा त्रुटी भएको दृढतापूर्वक विश्वास गर्ने उल्लेख गरेका छन्।
उक्त मेमोका अनुसार मृतबालकहरूमध्ये तीन जनाको प्राकृतिक कारणले मृत्यु भएको जस्तो शंका उत्पन्न गराएको छ। सारा र लौराको मामलामा, CALM2-G114R भनिने आनुवंशिक उत्परिवर्तनले तिनीहरूको मृत्यु भएको सम्भावना समेत देखिएको छ।
मेमो बाथर्स्टले फोलबिग आफ्ना छोराछोरीहरूका लागि माया गर्ने आमा होइनन् भन्ने विचारसँग असहमत भएको उल्लेख गरेका छन्।
२००३ को सुनुवाइको क्रममा अभियोजकहरूले फोलबिगले निराशाको कारण आफ्ना बच्चाहरूको हत्या गरेको दाबी गरेका थिए। तर, अहिले उक्त बहसमा शंका देखिएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ।