अष्ट्रेलियाका पोस्टेकोग्लो इंग्लिस क्लब टोटेनह्यामको प्रशिक्षक बन्ने
जेठ २४, मेलबर्न, अष्ट्रेलिया। स्कटिस लिग च्याम्पियन सेल्टिकका प्रशिक्षक एन्जे पोस्टेकोग्लो इंग्लिस क्लब टोटेनहम स्पर्सका नयाँ प्रशिक्षक बन्ने भएका छन्। बिबिसीले उनीसँग क्लबले सम्झाैता गरेको उल्लेख गरेको छ।
५७ वर्षीय अष्ट्रेलियन प्रशिक्षकले भर्खरै सेल्टिकमा आफ्नो दोस्रो सिजन समाप्त गरेका छन्। उनले लगातार २ पटक सेल्टिकलाई लिग च्याम्पियन बनाएका छन्। यस वर्ष उनले डोमेस्टिक ट्रेबलको उपाधि समेत जिताएका छन्।
मार्चमा एन्टोनियो कोन्टेको प्रस्थान गरेपछि क्रिस्टियन स्टेलिनी र त्यसपछि रायन मेसनले अन्तरिम कार्यभार लिएका थिए। त्यसपछि स्पर्सले नयाँ प्रबन्धकको खोजी गरिरहेको थियो।
अहिले उनको सम्झाैताको अन्तिम चरणहरू पुरा भइरहेको र चाँडै घोषणा गरिने बताइएको छ।
एथेन्समा जन्मिएका पोस्टेकोग्लो २०२१ मा सेल्टिकको प्रशिक्षक बन्नुअघि २००८ ग्रीसको तल्लो लिग साइड पनाचाइकीको जिम्मेवारी सम्हालेका थिए। उनको सोही मात्रै युरोपियन कोचिङ अनुभव थियो।
उनले दक्षिण मेलबर्न र ब्रिस्बेन रोअरसँग अष्ट्रेलियन लिगको उपाधि जितेका छन्। योकोहामा एफ मारिनोबाट जापानको शीर्ष लिग जितेका उनले २०१५ मा अष्ट्रेलियाको राष्ट्रिय टोलीलाई एसियन कप जिताएका थिए।
पोस्टेकोग्लोले प्रिमियर लिगमा आठौं स्थानमा रहेको टोटेनह्यामको टोलीको जिम्मेवारी सम्हाल्दा क्लबले २००९-१० पछि युरोपियन फुटबलमा प्रतिस्पर्धा गर्न पाउनेछैन।
सन् २०१९ मा माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेपछि जोसे मोरिन्हो, नुनो एस्पिरिटो सान्तो र एन्टोनियो कोन्टेपछि उनी लन्डन क्लबको चौथो स्थायी प्रशिक्षक बनेका छन्।