काठमाडौँको ठमेलमा ‘लिभिङ टुगेदर’ मा बस्दै आएकी युवतीको कुटपिट गरी हत्या
जेठ २४, काठमाडौँ । काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालस्थित ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएकी २६ वर्षीया युवतीको कुटपिट गरी हत्या भएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो चितवन राप्ती नगरपालिका–७ घरभई काठमाडौँको ठमेलस्थित भगवती बहालस्थित सुन्दर कार्कीको चारतले घरको दोस्रो तलामा बस्दै आएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो।
तामाङलाई उनीसँगै लिभिङ टुगेदरमा बस्दै आएका काभ्रे धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारले कुटपिट गरेको र उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।
मादक पदार्थ सेवन (मापसे) गरी आपसमा सामान्य विवादपछिको झै–झगडा हुँदा रञ्जितकारले तामाङलाई कुटपिट गरेको र उपचार गराउनसमेत आफैंले अस्पताल पुर्याएका थिए।
मंगलबार दिउँसो साढे ३ बजे तामाङको उपचारका लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्याइएको र साँझ ७ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई मंगलबार नै पक्राउ गरी प्रहरी वृत्त लैनचौरबाट आवश्यक अनुसन्धान थालेको एसपी रिजालले जानकारी दिए ।