स्वदेश फर्किन एक दिनमात्रै बाँकी हुँदा अष्ट्रेलियामा ब्यागप्याकरको दुर्घटनामा परी मृत्यु
जेठ २६, मेलबर्न, अष्ट्रेलिया । अष्ट्र्रेलियाबाट फर्किने तयारीमा रहेका एक ब्यागप्याकरको मृत्यु भएको छ। शुक्रबार पर्थको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा इटालियन युवा ब्यागप्याकरको मृत्यु भएको हो।
उनी अष्ट्रेलियाबाट शनिबार नै इटाली फर्किने तयारी गरिरहेका थिए।
भोलिपल्ट अर्थात् शनिबार स्वदेश फर्किनु अघि २३ वर्षीय ज्याकोपो मार्टिनी एक विदाई पार्टीमा जाँदै थिए। तर, उनी सवार कार ल्यान्सलिनमा विपरित दिशामा जाँदै गरेको अर्को गाडीसँग ठोक्किन पुग्यो।
प्रहरी रिपोर्टका अनुसार मार्टिनी र अन्य तीन जना सवार रातो मित्सुबिसी शुक्रबार साँझ ६ः ४० बजे लान्सेलिन रोडमा टोयोटा हाइलक्ससँग ठोक्किएको थियो।
आफ्ना साथीहरूमाझ अपो भनेर चिनिने मार्टिनीको घटनास्थलमा नै मृत्यु भएको वेस्टर्न अष्ट्रेलिया प्रहरीले जानकारी दिएको छ।
मित्सुबिशी चालक २४ वर्षीय लुका कालियारी पनि इटालीबाट अपोसँगै आएका सहयात्री थिए। गम्भीर घाइते भएका उनलाई रोयल पर्थ अस्पतालमा लगियो। त्यहाँ उनको स्थिर अवस्थामा उपचार भइरहेको छ।
“दुर्घटनामा मित्सुबिसीका थप दुई वयस्क यात्रुहरू गम्भीर घाइते भएका छन् र उनीहरूलाई उपचारका लागि जुन्डलप स्वास्थ्य क्याम्पस र रोयल पर्थ अस्पतालमा लगिएको छ,” प्रहरीले घटनाबारे थप जानकारी दिँदै भनेको छ।
मार्टिनी र तीन जना सहयात्रीहरू भोलिपल्ट बिहान बाली उडान गर्नु अघि एक साथीको घरमा विदाई पार्टीमा जाँदै थिए। बालीका केही समय बिताएर उनीहरू आफ्नो घर इटाली फर्किने तयारीमा थिए।
मार्टिनी, कालियारी, र मार्टिनीको जेठो भाइ ज्युसेप्पेले तीन महिना अष्ट्रेलियाको ग्रामीण भेगको सुमिच वेस्ट हिल फार्ममा तीन महिना विभिन्न कृषि कार्य गरेका थिए।
अहिले उनको शव इटाली पठाउनका लागि साथीहरूले गोफन्डमीमार्फत सहयोग सङ्कलन अभियान सुरू गरेका छन्।
घटनाको वरपरका परिस्थितिहरूको अनुसन्धान गरिरहेको प्रहरीले ड्यासक्याम फुटेज वा जानकारी भएका जो कोहीलाई पनि क्राइम स्टपरलाई सम्पर्क गर्न अनुरोध गरिरहेको छ।