इन्डोनेसियामा आतङ्क मच्चाउने अष्ट्रेलियन नागरिक देश निकाला, २५ हजार डलर क्षतिपूर्ति तिरेर घर फर्किए


जेठ २९, मेलबर्न, अष्ट्रेलिया । इन्डोनेसियामा नग्न अवस्थामा मदिरा पिएर उच्छृङ्खल गतिविधि गर्ने क्विन्सल्याण्डका एक व्यक्ति अन्ततः घर फर्किएका छन्।

उनले इन्डोनेसियामा माछा मार्ने व्यक्तिमाथि हमला नै गरेर घाइते समेत बनाएको अभियोग लगाइएको थियो। बोधिमणि रिस्बी-जोन्सलाई घटनाको लागि माफी मागेपछि औपचारिक रूपमा देशबाट निकाला गरिएको हो।

आइतबार बिहान मेलबर्नमा अवतरण गरेपछि सनसाइन कोस्ट घर भएका जोन्स त्यसतर्फ लागेका छन्।

क्वीन्सल्याण्डका जोन्सलाई लगभग छ हप्ता अघि सिम्युलु टापुस्थित सर्फ रिसोर्टमा हिरासतमा राखिएको थियो। प्रहरीले जोन्समाथि देशको अत्यन्तै पूरातनवादी प्रान्त आचेमा रक्सी खाएर नग्नता देखाउँदै आतङ्क मच्चाएको आरोप लगाएको थियो।

जोन्सले मेलबर्नमा अवतरण गरेपछि उनले इन्डोनेसियामा गरेको व्यवहारप्रति लज्जित भएको प्रतिक्रिया दिएका छन्। माछा मार्ने व्यक्तिको परिवारका सदस्यहरूले नलाई माफी दिएका कारण उनी अहिले उनीहरूको परिवारको सदस्य भएको पनि टिप्पणी गरेका छन्।

रिस्बी-जोन्सलाई मंगलबार जेलबाट रिहा गरिएको थियो। उनले आफ्नो व्यवहार प्रति माफी माग्दै क्षतिपूर्ति दिन समेत सहमत भएपछि रिहा भएका थिए। यसका कारण उनले सम्भावित ५ वर्षको जेल सजायबाट पनि उम्किएका छन्।

जोन्सले घाइते भएका माछा मार्ने व्यक्तिको उपचार खर्च समेत समेट्नेगरी २५ हजार अष्ट्रेलियन डलर क्षतिपूर्ति तिर्ने भएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?