संविधान सभाध्यक्ष भन्छन्, संविधान बन्ने आधार तयार छ
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी माघ ८ गतेभित्रै नयाँ संविधान जारी गर्न आधार तयार भएकाले त्यसका लागि अब सतर्कता र पहरेदारी निरन्तर कायम राख्दै सकारात्मक दबाबको वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । “आउँदो माघ ८ गतेभित्र संविधान जारी गर्नुको विकल्प छैन, संविधान बनाउनैपर्छ, समयमै संविधान बनाउने गरी आन्तरिक कार्यतालिका र कार्यसीमामा हुन सक्नेसम्मको मात्र फेरबदल गर्नुपर्छ जसले समयसीमालाई नकारात्मक असर नपारोस्”– अध्यक्ष नेम्वाङले भन्नुभयो । राससले राखेको जिज्ञासामा अध्यक्ष नेम्वाङले संविधान बन्छ र बन्ने आधार पनि तयार छ भन्नुभयो । संविधानले दिएको समयावधि चार वर्ष भएको तथा दलका नेता र उम्मेदवारले निर्वाचनको घोषणापत्रमा जनताका बीचमा जाँदा विगतको संविधानसभाले गरेको सहमतिको स्वामित्वको ग्रहण गरेर एक वर्षभित्र संविधान बनाउँछौ भन्ने प्रतिबद्धता गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष नेम्वाङले जनताका अगाडि गरेको वाचा, बन्धन र प्रतिबद्धता पूरा गर्नुपर्छ र यो कुरालाई कसैले पनि बिर्सन हुँदैन भन्नुभयो । “यसबीचमा अघिल्लो संविधानसभाले गरेको सहमतिको स्वामित्व ग्रहण गर्ने प्रक्रिया स्थापित ग¥यौँ, नियमावली कार्यतालिका बनाएर त्यसबमोजिम क्रियाशील भएकाले माघ ८ गतेभित्र संविधान बनाउन सक्ने अवस्थामा छौँ र त्यो आधार तयार गरेका छौँ”–अध्यक्ष नेम्वाङले भन्नुभयो । संविधान निर्माणका लागि लिनुपर्ने सबैखाले अनुभव यसअघि नै प्राप्त गरिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष नेम्वाङले अब त हामीले अनुभव हासिल गर्नु र छलफल गर्नुपर्ने केही छैन, बरु जुन विवाद छन् त्यसमा केन्द्रित रहेर धमाधम निर्णय गर्नुपर्ने बेला छ, निर्णय गर्न धेरै समय लाग्दैन भन्नुभयो । “मैले ठट्टामा भन्ने गरेको छु चन्द्रमामा पुग्नेबाहेक विगतमा हाम्रा नेता, सभासद् सबैले संसार घुम्यौँ, अनुभव हासिल ग¥यौँ, चार वर्ष नौ महिना हामीले गर्नुपर्ने सबै छलफल गरिसक्यौँ, त्यसैले बाँकी समयभित्र हामी संविधान बनाउन सक्छौँ, संविधान बनाउने आधार तयार छ, यत्ति हो दलहरुले आफूले बनाएको कार्यतालिकाबमोजिम काम गर्नुपर्छ र हिँड्नुपर्छ,”– नेम्वाङले भन्नुभयो । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको म्याद पटक पटक थपिँदा जनमानसमा संविधान बन्नेमा आशङ्का उब्जेको छ नि भन्ने प्रश्नमा उहाँले अब हामीले यथार्थको धरातलमा सिङ्गो प्रक्रियालाई उभ्याउनुपर्छ र संविधान भनेको सबै दल, जाति, भाषा, धर्म, संस्कृतिका जनताको साझा दस्तावेज भन्ने बुझेर सबै बसी सम्झौता गरेर संविधान बनाउनुपर्छ भन्ने कुरामा विवादै छैन भन्नुभयो । “संविधान बनेन भने सम्पूर्ण उपलब्धि शून्य हुन्छन्, हामी शून्य बनाउन चाहन्छौँ कि हुन सक्नेसम्मको अधिकार प्राप्त गरेर बाँकी उपलब्धिलाई संस्थागत गर्ने आधार तयार गर्न चाहन्छौँ, त्यो बुझ्न जरुरी छ,” उहाँले भन्नुभयो । संविधान सहमतिबाटै बनाउनुपर्ने र माघ ८ गतेभित्र संविधान बनाइसक्नुपर्छ भन्दै अध्यक्ष नेम्वाङले कथम्कदाचित कुनै कुराले सहमतिबाट संविधान बन्न सक्ने अवस्था भएन भने त्यो पनि सहमतिबाटै निर्धारित प्रक्रियाबमोजिम संविधान बनाउँछाँै भन्ने दलहरुको प्रतिबद्धता रहेको स्मरण गर्नुभयो । “संविधानसभाले सर्वसम्मतिले पारित गरेको नियमावली र कार्यतालिका छ, दल र दलका नेताहरुले निश्चित समयभित्र भरमग्दुर सहमतिको प्रयास नै गर्ने हो, त्यसैले मुलभूत रुपमा त सहमतिबाटै जाने हो, प्रक्रियामा जानका लागि पनि सहमति हुनुप¥यो,” नेम्वाङको भनाइ छ । उहाँले प्रक्रिया र सहमति भन्ने कुरामा किन विवाद भएको छ भन्ने आफूले नबुझेको बताउनुभयो । “दलहरुले प्रक्रिया मात्रै समाउने अथवा सहमति मात्रै समाउने भन्ने नियम र कार्यतालिकामा नै छैन, त्यहाँ त प्रक्रिया पनि छ सहमति पनि छ,” अध्यक्ष नेम्वाङले भन्नुभयो । उहाँले संविधानसभाभित्र संविधान निर्माणको प्रक्रिया संविधान, नियम, स्थापित अभ्यास, मूल्यमान्यताअनुरुप अगाडि बढ्ने बताउनुभयो । उच्चस्तरीय राजनीतिक समिति गठनले संविधानसभाको कामकारबाहीमा कुनै असर पार्छ कि भन्ने प्रश्नमा अध्यक्ष नेम्वाङले दलहरुले कुनै संयन्त्र प्रक्रिया स्थापित गर्दा संविधानसभा र संसद्लाई त्यसबाट असर पार्दैनौँ भनेर भन्नुभएकाले उहाँहरुले गर्नुभएको प्रतिबद्धतालाई म विश्वास र सम्मान गर्छु भन्नुभयो । “राजनीतिक दलहरुले राजनीतिक निर्णय गरेर स्थापित गरेको राजनीतिक संयन्त्र हो, उहाँहरुको त्यो कार्यबाट संविधानसभालाई असर पर्ने छैन, असर पर्न दिइने छैन, नकारात्मक असर नपर्ने गरी कुनै किसिमको सहयोग कसैले गर्छ भने त्यसलाई सहजतापूर्वक लिनुपर्छ,”–नेम्वाङले भन्नुभयो ।