विशेष ओलम्पिक विश्व खेलकुदमा अष्ट्रेलियाले जित्यो १३ स्वर्णसहित ४५ पदक


असार १३, मेलबर्न, अष्ट्रेलिया । जर्मनीमा समापन भएको विशेष ओलम्पिक विश्व खेलकुदमा अष्ट्रेलियाका खेलाडीले १३ स्वर्ण पदक जितेका छन्।

विश्वको सबैभन्दा ठूलो समावेशी खेलकुद कार्यक्रम बर्लिनको ब्रान्डनबर्ग गेटमा शानदार रूपमा समापन गरिएको छ। उक्त खेलकुद समारोहमा २६ खेल विधामा प्रतिस्पर्धा १९० विभिन्न प्रतिनिधिमण्डलका बौद्धिक अपाङ्गता भएका ७ हजार खेलाडीहरूले भाग लिएका थिए।

अष्ट्रेलियाका ६४ खेलाडीले विभिन्न खेलमा सहभागिता जनाएका थिए। अष्ट्रेलियाका खेलाडीहरूले बास्केटबल, बोके, बलिङ, इक्वेस्ट्रियन, गल्फ, जिम्न्यास्टिक, पौडी, टेनिस र एथलेटिक्स गरी नौ विभिन्न खेलमा प्रतिस्पर्धा गरेका थिए।

ब्रिसबेनकी गल्फर नतास्चा टेनेन्टले १८ होल इभेन्टमा स्वर्ण जितेकी छन्। उनले स्वर्ण जित्ने लक्ष्यका साथ एक हप्तामा चार पटकसम्म प्रशिक्षण गरेको बताएकी छिन्।

अष्ट्रेलिया जिम्न्यास्टिकमा पनि निकै सफल रह्यो। टोलीका ६ सदस्यले ६ स्वर्ण सहित २१ पदकका साथ प्रतियोगिता समाप्त गरे।

लेभल-फोरका प्रतियोगी न्यु साउथ वेल्सका क्रिस बुन्टनले पोमेल, रिंग्स र हाई बारमा स्वर्ण पदक जितेका छन्। उनले अन्य चार विधामा रजत समेत जित्न सफल भए।

भिक्टोरियन लेभल-टू प्रतियोगी सोफी निकोल्सले दुई स्वर्ण अन फ्लोर र चारैविधा सहित तीन पदक जितिन्। त्यस्तै, क्विन्सल्याण्डकी एलिजावेथ होकर्टले एक स्वर्ण र एक कास्य पदक जितिन्।

अष्ट्रेलियाको पहिलो स्वर्ण पदक माइकल व्हिटली र रोबर्ट गुडरेमले जितेका थिए। उनीहरूले पुरुष डबल्स टेनपिन बलिङमा जित हासिल गरेका थिए।

भिक्टोरियन एथलीट चेल्सी हाग-विदरडेनले सटपुटमा स्वर्ण जितिन्। अष्ट्रेलियाले १३ स्वर्ण, १६ रजत र १६ कास्यसहित कुल ४५ पदक जितेको छ।

सन् २०२७ मा हुने अर्को विशेष ओलम्पिक विश्व खेलकुदको आयोजक नोभेम्बरमा तय हुनेछ।

अष्ट्रेलियाले पर्थमा हुने खेलकुदको आयोजना गर्नका लागि दाबी पेश गर्ने बताएको छ। यदी अष्ट्रेलियाको दाबी सफल भएमा पहिलो पटक विशेष ओलम्पिक विश्व खेलकुद दक्षिणी गोलार्धमा आयोजना हुनेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?