दशैंतिहार मेलामा ६ घण्टा लाम लागेपछि पाईन्छ चामल एक बोरा
भक्तपुरमा एकबोरा चामल लिन छ घण्टासम्म लाइन बस्नुपर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर भक्तपुरको सूर्यविनायकमा दैनिक एकबोरा चामल लिन छ घण्टा लाम बस्दै आएका छन् भक्तपुरका बासिन्दा । भक्तपुरको सूर्यविनायकस्थित गङ्गा महिला हस्तकलाले सूर्यविनायकमा आयोजना गरेको दसैँ–तिहार मेलामा खाद्य संस्थानले राखेको कक्षमा सहुलियत दरको चामल वितरण भएपछि भक्तपुरका बासिन्दा छ घण्टासम्म लाम बस्ने गरेका छन् । भक्तपुरका व्यापारीले महँगोमा चामल बिक्री गरिरहेका बेलामा खाद्य संस्थानले मेलामा सहुलियत दरमा चालम उपलब्ध गराएपछि भक्तपुरका बासिन्दाको चामल लिन दैनिक ओइरो लाग्ने गरेको गङ्गा महिला हस्तकलाकी प्रमुख गङ्गा माकले बताउनुभयो ।चामल लिन बिहान ७ बजेदेखि उपभोक्ताहरू लाम बस्ने गरेको बताउँदै उहाँले खाद्य संस्थानले ११ बजे चालम झार्दा चामल लिनेको भीड नियन्त्रण गर्न प्रहरी नै परिचालन गर्नुपर्ने बताउनुभयो । लाम बस्नेलाई कुपन दिने गरेको र कुपनकै आधारमा चामल दिने गरेको बताउँदै माकले एकजनालाई एक बोरामात्रै चामल दिँदा पनि चामल लिनेको ओइरो लाग्ने गरेको बताउनुभयो । खाद्य संस्थानले मेलामा सहुलियत दरमा जीरा मसिनो चामल २० किलोको रु १०६०, जापनिज चामल ३० किलोको रु १३५०, बासमती चामल २० किलोको रु १८८० र गोरखनाथ चामल रु १२२५ मा बिक्री गरेपछि चामल लिनेको ओइरो लागेको हो । सबभन्दा बढी जापनिज चामल र जीरा मसिनो चामलको माग बढी रहेको बताउँदै माकले चामल ल्याएकै दिन सकिने र कतिपय चामल नपाएर फर्किने गरेको बताउनुभयो । त्यसैगरी मेलामा साल्ट ट्रेडिङले चिनी प्रतिकिलो रु ६० मा र नुन प्रतिप्याकेट रु १३ मा बिक्री गरेपछि चिनी र नुन लिन आउने ग्राहकको पनि दैनिक भीड लाग्ने गरेको छ । चिनी र नुनका लागि ग्राहक एकघण्टासम्म लाम बस्ने गरेको र कतिपयले लाम बस्दा पनि चिनी नपाई फर्कनुपर्ने अवस्था आएको माकले बताउनुभयो । खाद्य संस्थान बाग्मती अञ्चल प्रमुख खड्गबहादुर ज्ञवालीले भक्तपुरमा पु¥याउनै नसक्ने गरी चामलको माग आएको बताउनुभयो । भक्तपुरको एउटा कक्षबाट मात्र अहिलेसम्म करिब तीन हजार क्विन्टल चामल बिक्री गरिसकेको बताउँदै उहाँले भक्तपुरमा चामल बिक्री नियन्त्रण गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तपुरमा थेग्नै नसक्ने गरी चामलको माग आयो, व्यापारी पनि उपभोक्ता भएर आएको हुनसक्ने आशङ्का पनि बढ्यो, दोहोरिएर पनि ग्राहक आएको हुनसक्ने भएकाले अनुगमन गर्नुपर्ने अवस्था आएको छ ।” संस्थानबाट माग भएसम्म चामल दिने प्रयास गरिने उहाँको भनाइ छ । गत असोज १ गतेदेखि आयोजना गरेको दसैँ–तिहार मेला छठसम्म सञ्चालन हुने भएको छ ।