अष्ट्रेलियामा गुड्ने हुन्डाईका दुई मोडलका कारमा गम्भीर समस्या, फिर्ता गर्न विभागको अनुरोध


असार २४, मेलबर्न, अष्ट्रेलिया । हजारौं हुन्डाई कार इन्जिनमा खराबीका कारण गाडीमा आगो लाग्न सक्ने भन्दै फिर्ता गर्न अनुरोध गरिएको छ।

सन् २०१४ देखि २०१७ को बीचमा बनाइएका हुन्डाईका दुई मोडल भेलोस्टर (एफएस) र टक्सन (टीएल) (भेरिएन्ट: एफएस १.६जीडीआई, टीएल २.०एमआई)का लागि बिहीबार रिकल नोटिस जारी गरिएको थियो।

पूर्वाधार, यातायात, क्षेत्रीय विकास, सञ्चार तथा कला विभागका अनुसार कारको इन्जिन कनेक्टिङ रड बियरिङमा गडबडीका कारण निर्माणमा समस्या देखिएको छ।

कनेक्टिङ रड बियरिङ फेल भएर इन्जिनलाई क्षति पुर्‍याउँने बताइएको छ।

“यदि यस्तो भयो भने, इग्निशन सोर्समा इन्जिन तेल चुहावट हुन सक्छ। जसले गर्दा गाडीमा आगो लाग्ने प्रबल सम्भावना रहन्छ,” विभागले भनेको छ।

१३,००० भन्दा बढी कारहरू यो त्रुटीबाट प्रभावित भएको बताइएको छ।

विभागले आफ्नो सवारी साधनको इन्जिनमा असामान्य आवाज वा धुवाँ जस्ता समस्या देखिए वा इन्जिनमा वार्निङ लाइट बलेमा कार रोक्न, इग्निशन बन्द गर्ने र गाडी खाली गर्न अनुरोध गरेको छ। यस्तो अवस्थामा नजिकको हुन्डाइ डिलरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

“प्रभावित सवारी साधनका मालिकहरूले आफ्नो पायक पर्ने आधिकारिक हुन्डाई डिलरलाई सम्पर्क गरी सकेसम्म चाँडो नि:शुल्क सेवा लिन सक्नेछन्।” विभागद्वारा जारी सुचनामा भनिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?