विमानस्थल सुन बरामद प्रकरण : जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरिने


साउन ४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक सय किलो सुन बरामद प्रकरणमा भन्सार विभागले जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी गरेको छ।

मंगलबारको क्याथे फ्यासिफिकको उडानबाट काठमाडौँ आएको उक्त सुन बुधबार भन्सार जाँच पास भएको थियो। भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलका अनुसार सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी भएको बताए।

उक्त प्रकरणमा हालसम्म एजेन्टसहित ६ जनालाई पक्राउ परेका छन्।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। पक्राउ परेकाको पहिचान खुलाइएको छैन। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए। सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए। नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?