मोरक्कोको पोस्टमा जर्मनीको आधा दर्जन गोल, अर्जेन्टिना इटालीसँग पराजित
साउन ८, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला फुटबल विश्वकपमा जर्मनीले सानदार सुरूवात गरेको छ। सुरूवाती खेलमा मोरक्कोलाई ६ – ० गोल अन्तरले हराउँदै जर्मनीले प्रतियोगिताको सुरूवात गरेको हो।
मेलबर्न रेक्टाङ्गुलर स्टेडियममा जर्मनीले एकतर्फी प्रदर्शन गरेको खेलमा एलेक्जान्ड्रा पोपले ११ मिनेटमा गोल गरेपछि जर्मनीले सुरूवाति अग्रता लिएको थियो। त्यस्तै, पहिलो हाफको ३९ मिनेटमा पोपले नै दोश्रो गोल गर्दा जर्मनीको अग्रता दोब्बर भयो।
पहिलो हाफमा मोरक्कोलाई दबाबमा राखेको जर्मनी दोश्रो हाफको सुरूवाती मिनेटमा नै गोल गर्न सफल भयो। जर्मनीका लागि क्लारा बुलले ४६ औँ मिनेटमा तेश्रो गोल गरिन्।
जर्मनी सामू निरीह बनेको मोरक्कोले दोश्रो हाफमा २ पटक आत्मघाती गोल खायो। मोरक्कोकी हानेन आइत एल हजले ५४ औँ मिनेटमा र यस्मिन राबेतले ७९ औँ मिनेटमा जर्मनीलाई एक-एक गोल उपहार दिए।
त्यसैगरी, खेलको ९० औँ मिनेटमा जर्मनीका लागि ली सुलरले गोल गर्दा जर्मनीले मोरक्को पोस्टमा आधा दर्जन गोल वर्षायो। यो जीतसँगै जर्मनीले ग्रुप एचको शीर्ष स्थान कब्जा गरेको छ।
त्यस्तै, आजै भएको ग्रुप जीको पहिलो खेलमा अर्जेन्टिनामाथि जीत निकाल्दै इटालीले प्रतियोगितामा विजयी सुरूवात गरेको छ। इडेन पार्क स्टेडियममा भएको खेलको अन्तिम समय अर्थात् ८७ मिनेटमा क्रिस्टियान गिरेलीले गरेको गोल नै इटालीलाई ३ अंक दिलाउन पर्याप्त सावित भयो।