इराकको फलुजा शहरलाई आइएसको नियन्त्रणबाट मुक्त गर्न सेनाको कारबाही तिव्र


Iraqiइराकी सेनाले फलुजा शहरलाई इस्लामिक स्टेटको नियन्त्रणबाट मुक्त गर्न आक्रमण शुरु गरेको छ । अमेरिकी सेनाको सहयोगमा इराकी र कुर्दिस बलले आइएसविरुद्धको कारबाही तिव्र पार्दै फलुजा शहरलाई मुक्त गर्ने प्रयास गरेका हुन् । सेनाले हवाई तथा स्थलमार्गबाट लगातार आइएसमाथि आक्रमण गर्दै आएको छ । फलुजा सन् २०१४ देखि आइएसको नियन्त्रणमा छ ।

अमेरिका नेतृत्वको फौजले आइएसविरुद्ध कारबाही चलाएपछि स्थानीयबासिन्दा शहर छाडेर भाग्न थालेका छन । नर्वेजियन शरणार्थी परिषद्का अनुसार ३ सयभन्दा बढी परिवार शहरबाहिरको क्याम्पमा पुगेका छन् । शहरभित्र ५० हजारभन्दा बढी मानिस फसेको अनुमान गरिएको छ ।

कारबाहीकै क्रममा सुरक्षा बलले फलुजाको दक्षिणमा रहेको नुऐमिया गाउँमाथि नियन्त्रण कायम गरेको छ । यस्तै सरकारी फौजले फलुजा नजिकका विभिन्न लडाकु शिविरबाट महत्वपूर्ण सामाग्री बरामद गरेको जनाएको छ ।

यसैबीच आइएसका लडाकुले बग्दाद आसपासका क्षेत्रमा भिषण हमला गरेका छन् । त्यस क्रममा कम्तिमा २१ जना मारिएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?