महिला विश्वकप : अर्जेन्टिना र दक्षिण अफ्रिकाको रोमाञ्चक बराबरी, अर्जेन्टिनाको बाँकी यात्रा धरापमा
साउन १२, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा अर्जेन्टिना दोश्रो खेलमा पनि जित निकाल्न असफल भएको छ। शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएसँगै अर्जेन्टिना जारी विश्वकपको दोश्रो खेलमा पनि जित निकाल्न असफल भएको हो।
शुक्रबार फोर्सिथ बार स्टेडियममा भएको अर्जेन्टिना र दक्षिण अफ्रिका बिचको खेल २-२ गोलको बराबरीमा रोकियो। खेलमा दोब्बर अग्रता बनाएको अफ्रिका अन्तिम समयमा सम्हालिन नसक्दा अङ्क बाड्न बाध्य भयो।
दक्षिण अफ्रिकाका लागि पहिलो हाफको ३० औँ मिनेटमा गोल गर्दै लिण्डा मोथालोले अग्रता दिलाएकी थिइन्। त्यस्तै, दोश्रो हाफको ६६औँ मिनेटमा टेम्बि गाल्टानाले गोल गर्दा दक्षिण अफ्रिकाको अग्रता दोब्बर भयो।
तर, २ गोलले पछि परेको अवस्थाको पाँच मिनेटमा २ गोल गर्दै अर्जेन्टिना दक्षिण अफ्रिकासँग १ अङ्क खोस्न सफल भयो। अर्जेन्टिनाका लागि ७४ औँ मिनेटमा सोफिया ब्राउनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन्। त्यस्तै, ७९ मिनेटमा रोमिना नुनेजले गोल गरेपछि खेल बराबरीमा सकियो।
दोश्रो खेलमा पनि जित निकाल्न नसकेको अर्जेन्टिनाको विश्वकपको आगामी यात्रा धरापमा परेको छ। अब अन्तिम १६ मा स्थान बनाउनका लागि अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा स्वीडेनलाई पराजित गर्नै पर्ने भएको छ।
यदी उक्त खेलमा अर्जेन्टिनाको हार वा बराबरी भएमा अर्जेन्टिना घर फर्किनु पर्नेछ। अर्जेन्टिनाले स्वीडेनमाथि जित निकालेता पनि इटाली र दक्षिण अफ्रिकाको खेलले उत्तर अमेरिकी टोलीको भाग्यको निर्धारण गर्नेछ।
समूह जीको अन्तिम खेलमा इटालीलाई दक्षिण अफ्रिकाले पराजित गर्यो भने अर्जेन्टिनाको यात्रा सहज हुनेछ। यदी उक्त खेल बराबरी भएको खण्डमा अर्जेन्टिनाले २ गोलको अन्तरले स्विडेनलाई हराउनु पर्नेछ।