आयोजक न्युजिल्याण्डको विश्वकप यात्रा समाप्त, फिलिपिन्सको पोस्टमा नर्वेको आधा दर्जन गोल


साउन १४, मेलबर्न, अष्ट्रेलिया । स्वीट्जरल्यान्ड र नर्वे फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘ए’ अन्तर्गत आइतबार भएको समूह चरणको अन्तिम खेलमा स्वीट्जरल्यान्डले आयोजक न्युजिल्यान्डलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको हो । हारसँगै आयोजक न्युजिल्यान्ड विश्वकपबाट बाहिरिएको छ ।

यही समूहको अर्को खेलमा नर्वेले फिलिपिन्सलाई ६–० गोलले स्तब्ध बनायो । जितसँगै समूहको शीर्षस्थानमा रहेको नर्वेले तीन खेलबाट पाँच अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको नर्वेको समान खेलबाट चार अङ्क पुगेको छ ।

आयोजक न्युजिल्यान्डले समान चार अङ्क बनाएपनि गोल अन्तरका आधारमा पछि पर्दै विश्वकपबाट बाहिरिएको हो । तीन अङ्क बनाएको फिलिपिन्स पनि विश्वकपबाट बाहिरिएको छ । फिलिपिन्सविरुद्ध एकपक्षीय प्रदर्शन गरेको नर्वेलाई जिताउन सोफी हगले ह्याट्रिक गरिन् ।

सोफीले छैटौँ, १६औँ र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी हुन् । क्यारोलिन हेनसनले ३१औँ र गुरो रेईटनले ५३औँ मिनेटमा एक एक गोल गरिन् । नर्वेले अर्को गोल फिलिपिन्सबाट आत्मघाती उपहार पाएको थियो ।

यस्तै समूह ‘एच’ को अर्को खेलमा मोरोक्कोले दक्षिण कोरियालाई १–० गोलले हरायो । जारी विश्वकपमा मोरोक्कोको यो पहिलो जित हो । विश्वकपमा पहिलो जित दर्ता गर्दै इतिहास बनाएको मोरोक्कोले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

मोरोक्कोको जितमा इबटिस्साम जरैडिस्ले गोल गरिन् । उनले छैटौँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बनेको थियो । जितसँगै मोरोक्कोले दुई खेलबाट तीन अङ्क बनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?