अष्ट्रेलियाको अन्तिम १६ मा स्थान सुरक्षित, क्यानडामाथि सानदार जित
साउन १५, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलिया घरेलु मैदानमा जारी फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह बी अन्तर्गत भएको अन्तिम खेलमा क्यानडामाथि सानदार जित निकाल्दै अष्ट्रेलियाले अन्तिम १६ मा स्थान पक्का गरेको हो।
जारी विश्वकपमा अष्ट्रेलियाको यो दोश्रो जित हो। यसभन्दा अघि आयरल्याण्डलाई हराएको अष्ट्रेलियाले नाइजेरियासँग अप्रत्यासित हार व्यहोरेको थियो।
अष्ट्रेलियाको जितमा हायली रोसोले २ तथा म्यारी फ्लावर र स्टेफिन क्याट्लीले एक/एक गोल गरे।
खेलको सुरूवातदेखि नै दबाब राखेको अष्ट्रेलियाका लागि पहिलो हाफको नवाैँ मिनेटमा गोल गर्दै रोसोले सुरूवाति अग्रता दिलाइन्। त्यस्तै, ३९औँ मिनेटमा रोसोले नै व्यक्तिगत दोश्रो गोल गर्दा अष्ट्रेलियाले अग्रता दोब्बर पार्यो।
दोश्रो हाफको ५८औँ मिनेटमा फ्लावरले र निर्धारित समयपछि थप गरिएको समयमा क्याट्लीलेले पेनाल्टीमार्फत गोल गर्दा अष्ट्रेलियाले सानदार जित निकाल्यो।
यो जितसँगै समूह बिको विजेता बन्दै अष्ट्रेलियाले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अष्ट्रेलियासँगै सोही समूहबाट नाइजेरिया अन्तिम १६ मा पुगेको छ।
समूह बीको तेश्रो र चाैथो स्थानमा रहँदै आयरल्याण्ड र क्यानडा भने घर फर्किएका छन्।
अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी विश्वकपमा अष्ट्रेलिया मात्रै अन्तिम १६ मा पुग्न सफल भएको छ। समूह एमा रहेको न्युजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ।