अष्ट्रेलियाले मानवीय सहायता भिसाको संख्या बढाएर २० हजार पुर्याउने
साउन २८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाले मानवीय सहायता भिसाको संख्या बढाउने भएको छ। पछिल्लो वर्षसम्म १७ हजार ८७५ भिसा जारी गरिएकोमा अब भने २० हजार पुर्याइने भएको हो।
अन्तिम पटक लेबर पार्टी सत्तामा भएको समयमा १०१३ मा यो भिसा २० हजार नै रहेको थियो। अघिल्लो सरकारले घटाएको यो भिसा लेबर पार्टीले पुरानै अवस्थामा फर्काउने भएको हो।
सन् २०१४ मा पूर्व प्रधानमन्त्री टोनी एबोटले अष्ट्रेलियाको मानवीय सहायता भिसा कटौती गरेका थिए। तर त्यसपछिका वर्षहरूमा यो संख्या बिस्तारै बढिरहेको छ।
एक विज्ञप्तिमा अध्यागमन मन्त्री एन्ड्रयु गिल्सले अष्ट्रेलियाको यो कमदले विश्वव्यापी मानवीय संकटको प्रतिक्रिया गर्न सहयोग गर्ने बताए। विश्वव्यापी संकटका कारण १० करोड मानिस वासस्थान संकटमा छन् । त्यस्तै, २० लाखलाई तत्काल बसोबासको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदन छ।
“विश्वव्यापी रूपमा पहिलेभन्दा धेरै मानिसहरू विस्थापित भएसँगै अल्बानीज नेतृत्वको लेबर सरकारले जिम्मेवार तरिकाले विश्वव्यापी पुनर्वास प्रयासमा आफ्नो भूमिका खेल्न अगाडि बढिरहेको छ,” गिल्सले भने।
मानवता र जिम्मेवारीको भावना कायम राख्दै अष्ट्रेलियाको सिमाना सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको पनि गिल्सले बताएका छन्।
अष्ट्रेलियाको कानून काउन्सिलले जुनमा सरकारलाई बुझाउने क्रममा मानवीय सेवालाई २० ठाउँमा पुर्याउन सिफारिस गरेको थियो। यो संख्या बढाएर २७ हजारसम्म पुर्याउन सकिने सम्भावना पनि काउन्सिलले सुझाएको छ।
कानून काउन्सिलले अफगान र सुडानी समूहका प्रतिक्रियाहरूलाई विशेष रूपमा सम्बोधन गर्न आवश्यक रहेको बताएको छ।
गृह मामिला विभागले अफगानिस्तानबाट आवेदनहरू प्रशोधन गर्न नसकेको बताएको छ। तालिवानको नियन्त्रणमा रहेको अफगानिस्तानमा बायोमेट्रिक, स्वास्थ्य तथा सुरक्षा जाँच गर्न कठीन रहेको बताइएको छ।
आवेदकले मानवीय सहायता भिसाका लागि अन्य सबै मापदण्डहरू पूरा गरे पनि अफगानिस्तानका नागरिकहरूलाई प्रशोधन गर्न कठिनाइका कारण भिसाहरू अस्वीकार गरिएकोप्रति कानून काउन्सिलले चिन्ता व्यक्त गरेको छ।
विभागले त्यहाँको अवस्थाका कारण अफगानिस्तानबाट आउने मानिसहरूको जाँच गर्ने तरिका परिवर्तन गर्न समेत चाहेको बताइएको छ।