अष्ट्रेलियाले महिला विश्वकप जित्यो भने देशभर सार्वजनिक बिदा दिने संकेत
साउन २९, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाले जारी फिफा महिला विश्वकप जितेको अवस्थामा मुलुकभर सार्वजनिक बिदा दिने संकेत देखिएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले शनिबार अष्ट्रेलिया सेमिफाइनलमा पुगेपछि यसको छनक दिएका हुन्।
फ्रान्सविरूद्धको नाटकीय क्वार्टर फाइनलको खेल हेर्न प्रधानमन्त्री अल्बानीज ब्रिसबेन पुगेका थिए। सो खेलमा अष्ट्रेलिया सडन डेथमा भाग्यमानी हुँदै पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुग्यो।
प्रधानमन्त्री अल्बानीजले गत हप्ता पनि अष्ट्रेलियाले महिला विश्वकप जित्यो भने एक दिन राष्ट्रव्यापी रूपमा उल्लास मनाउनुपर्ने बताएका थिए।
न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले प्रधानमन्त्री अल्बानीजको यो प्रस्तावमा समर्थन जनाएका छन्।
“हामी माटिल्डासलाई सार्वजनिक बिदाको साथ समर्थन गर्न चाहन्छौं,” एक कार्यक्रममा उनले भनेका छन्।
मिन्सले बुधवार पारामाटाको कमब्याङ्क स्टेडियम र मूर पार्कको एलियान्ज स्टेडियमलाई ८ बजे ठूला स्क्रिनमा हेर्नका लागि दर्शकहरूका लागि खुला गर्ने योजना रहेको पनि बताएका छन्।
तर, अष्ट्रेलियाका सबै व्यक्तिहरूले प्रधानमन्त्री अल्बानीजको प्रस्तावमा सकारात्मक समर्थन भने देखाएका छैनन्। केही सांसदहरूले प्रधानमन्त्री अल्बानीजले लोकप्रीयताका लागि यो अवधारणा अघि सारेको बताएका छन्।
त्यसैगरी, राष्ट्रिय नेता डेभिड लिटलप्राउडले अष्ट्रेलियाले विश्वकप जितेको खण्डमा देशमा सार्वजनिक बिदा दिने हो भने व्यवसायलाई नोक्सान हुने चेतावनी दिएका छन्।
लिटलप्राउडले विश्वकपमा अष्ट्रेलियाको पूर्ण समर्थन गरेता पनि सार्वजनिक बिदा दिँदा व्यवसायीहरूका लागि उत्तम निर्णय नहुने बताएका छन्।