१५ वर्षको निर्वासनपछि थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको स्वदेश फिर्ती


भदौ ५, एजेन्सी । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्केका छन्। देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टा अगाडि उनी स्वदेश फर्केका हुन्।

आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा गएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा लिइएको थियो। निर्वाचित नेता उनलाई राजपरिवारले पनि तिरस्कार गरेपछि देशबाहिर जानु परेको थियो। उनीबिरुद्ध दश वटा आपराधिक मुद्दा लगाइएका छन्।

दुबईबाट सिङ्गापुर हुँदै निजी जेटमा स्थानीय समय अनुसार बिहान ९ः०० बजे राजधानी व्याङ्ककमा अवतरण गरेका उनका सयौँ समर्थकले जयकारका साथ स्वागत गरेका थिए। नेता सिनावात्राको दलको गढ मानिएको उत्तरपूर्वको सुरिन प्रान्तबाट रातभर यात्रा गरेर समर्थक विमानस्थलमा पुगेका थिए।

आफ्ना दुई छोरी र छोराको साथमा उनी विमानस्थलको टर्मिनलबाट छोटो समयको लागि निस्के र राजा र रानीको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि उनलाई सर्वोच्च अदालत लगिएको थियो। उनलाई लामो समयसम्म हिरासतमा नराखिने अपेक्षा गरिएको छ। नेता थाक्सिनको पार्टी फेउ थाई गठबन्धन सरकारमा आजै सहभागी हुने अपेक्षा पनि गरिएको छ।

हालैको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको कट्टरपन्थी युवा मुभ फर्वार्ड पार्टी नेतृत्वले फेउ थाईसँग सत्ता साझेदारीका निम्ति समझदारी गरेको छ। गठबन्धनमा अन्य दल पनि सहभागी हुने बताइएको छ।

थाइल्याण्डको सर्वोच्च अदालतले सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको छ। नेता सिनावात्रालाई उनको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको हो।

नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानूनी रूपमा सरकारी ब्याङ्कलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनित व्यक्तिमार्फत अवैध रूपमा शेयर राखेको कसूरमा दोषी ठहर्याएको अदालतले जनाएको छ।

थाइल्याण्डको विभाजनकारी नेताको उपमा पाएका सिनावात्रा १५ वर्षका निर्वासित जीवनपछि स्वदेश फर्केको केही घण्टामा नै जेल परेका छन्। पूर्वप्रधानमन्त्री थाक्सिनको राजनीतिक दल फेउ थाईका सदस्य एवं धनाड्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्रीका रुपमा चयन गर्ने तयारी भएका बेला अदालतलबाट काराबासको सजाय भएको छ।

चौहत्तर वर्षीय थाक्सिनलाई अदालतले जेल सजाय सुनाए पनि उनी कति दिन बन्दी बन्नेछन् भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?