अष्ट्रेलियाकी ओलिभिया गाडेकीले पक्का गरिन् यूएस ओपनमा ठाउँ, मङ्गलबारबाट प्रतिस्पर्धा सुरू गर्ने
भदाै ११, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाकी टेनिस खेलाडी ओलिभिया गाडेकीले न्यूयोर्कमा हुने यूएस ओपन टेनिस खेल्ने भएकी छिन्। सिजनको फाइनल मेजरका लागि सफलतापूर्वक छनाैट भएपछि यूएस ओपनमा उनको स्थान पक्का भएको हो।
गाडेकीले अमेरिकी एमिना बेक्तासलाई एक घण्टाभन्दा कम समयमा ६-१, ६-१ ले हराएर अष्ट्रेलियाको एकल टोलीलाई फ्लसिङ मेडोजमा १४ खेलाडीमा पुर्याइन्।
त्यसैगरी, क्विन्सल्याण्डकी किम बिरेलले आफ्नो अन्तिम चरणको क्वालिफाइंग भिडन्तमा अमेरिकी फियोना क्राउलीसँग ६-३, ६-३को हार व्यहोरिन्। तर, पनि उनी मुख्य ड्रमा भने प्रवेश गरेकी छन्।
२०१९ को युएस ओपन च्याम्पियन क्यानाडाकी बियान्का एन्ड्रिस्कु र स्पेनकी पाउला बडोसा दुवै घाइते भएपछि प्रतिस्पर्धा नगर्ने भएका छन्।
गाडेकी र बिरेल सहित महिला एकल ड्रमा अष्ट्रेलियाका ५ खेलाडी भएका छन्। यो ड्रमा २०२२की क्वार्टरफाइनलिस्ट अजला टोमलजानोभिच, डारिया साभिल र वाइल्डकार्ड स्टर्म हन्टर समेत रहेका छन् ।
गोल्ड कोस्टकी प्रतिभाशाली खेलाडीले २०२१ मा तत्कालीन अष्ट्रेलियन ओपन च्याम्पियन सोफिया केनिनमाथि शानदार जित हासिल गरेर व्यावसायिक मञ्चमा आफ्नो आगमनको घोषणा गरेकी थिइन्।
मेलबर्न पार्कमा भएको फिलिप आइल्याण्ड ट्रफी कार्यक्रममा उनले केनिनलाई पराजित गर्दा केनिन विश्व नम्बर चार थिइन्। तर, गाडेकीको भने कुनै र्याङ्किङ थिएन।
गाडेकीले अष्ट्रेलियन समय अनुसार मङ्गलबार रसियाकी विश्व नम्बर ५३ मिरा एन्ड्रिभासँग भिड्दै युएस ओपनको यात्रा सुरु गर्नेछिन्।