अष्ट्रेलियामा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुने तीन अमेरिकी सैनिकको खुल्यो पहिचान


भदाै १३, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको उत्तरी क्षेत्रमा भएको सैनिक हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुने तीन जना अमेरिकी सेनाको पहिचान खुलेको छ।

२३ जना सैनिक बोकेर उडेको बोइङ MV-22B ओस्प्रे टिल्ट-रोटर विमान आइतबार बिहान डार्विनको उत्तरमा रहेको मेलभिल टापुमा दुर्घटनाग्रस्त भएको थियो। सो दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए।

मृत्यु हुनेमा जेफर्सन कोलोराडोका ३७ वर्षीय मेजर टोबिन लुइस, भर्जिनियाको अर्लिङ्टनका २१ वर्षीय कर्पोरल स्पेन्सर कोलार्ट र इलिनोइसको २९ वर्षीय क्याप्टेन इलेनोर लेबाउ रहेको पुष्टि भएको छ। सेनालाई नियमित प्रशिक्षण अभ्यासको क्रममा ढुवानी गरिएको थियो।

अन्य पाँच जनालाई गम्भीर अवस्थामा रोयल डार्विन अस्पतालमा लगिएको मरीन रोटेशनल फोर्स डार्विनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। अस्पतालमा रहेका तीन जनामध्ये एकको अवस्था भने गम्भीर रहेको बताइएको छ।

घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। नेसनल टेरिटरीका पुलिस कमिश्नर माइकल मर्फीले इलाकामा आगो निभाउनको लागि स्थापना गरिएको आपतकालीन अपरेशन सेन्टरलाई दुर्घटना स्थलमा पुन: तैनाथ गरिएको बताएका छन्।

पश्चिमी अष्ट्रेलियामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री एन्थोनी अल्बानीजले घटना दुःखद र खेदजनक भएको बताएका छन्।

रक्षा विभागले यो घटना एक्सरसाइज प्रिडेटर्स रन २०२३ को समयमा भएको बताएको छ। अष्ट्रेलियासँगको संयुक्त सैनिक अभ्यासमा करीब १५० जना अमेरिकी सैनिकहरू डार्विनमा तैनाथ छन्। उनीहरूले अझै केही दिन सैन्य तालिम गर्ने बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?