कार्यकाल सकिनुभन्दा २ महिना पहिले नै राजिनामा दिए क्वान्टासका प्रमुखले


भदाै २०, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको चर्चित एयरलाइन्स क्वान्टासका प्रमुख अलान जोयसले पदबाट राजिनामा दिएका छन्। विवाद चुलिँदै गएपछि उनले कार्यकाल सकिन २ महिना अगावै राजीनामा दिएका हुन्।

१५ वर्ष क्वान्टासमा बिताएका जोयसको नोभेम्बरमा कार्यकाल सकिँदै थियो। तर, तत्कालै उनी बिदा भएका छन्। उनले यो नै बिदा हुने उत्तम उपाय भएको समेत बताएका छन्।

पछिल्लो समय क्वान्टासले एक वर्षमा कमाएको नाफा सार्वजनिक भएको थियो। एक अर्ब डलरभन्दा बढी नाफा कमाएको कम्पनीले उचित सेवा नदिएको भन्दै ग्राहकहरूले कम्पनीसँग रूष्ट भइरहेका छन्।

जोयस बाहिरिएसँगै चिफ फाइनान्स अफिसर भेनेसा हडसन क्वान्टासको प्रमुख बनेकी छिन्। उनी एयरलाइन्सको इतिहासमै प्रमुखको पदमा पुग्ने पहिलो महिला हुन्।

पछिल्लो २ वर्षमा क्वान्टासले महँगो भाडा, फ्लाइटमा ढिलाइ र रद्द हुने भन्दै आलोचना खेपिरहेको छ। अब नवनियुक्त प्रमुख हेडसन सामू यी सबै आलोचना कम गर्नु चुनाैती रहेको छ।

गत हप्तामात्रै नाफा विवरण सार्वजनिक गरेको क्वान्टासले रद्द गरिएका हजाराैँ टिकटहरू बिक्री गरेको भन्दै अष्ट्रेलियन कम्पिटिसन एण्ड कन्ज्युमर कमिसनले कानुनी उपचारको बाटो खोजिरहेको बताएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?