हिलारी क्लिन्टनलाई अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने बाटो खुल्यो
अमेरिकी राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडमा रहेकी हिलारी क्लिन्टनले आवश्यक प्रतिनिधि संख्या पूरा गर्नुभएको छ ।
डेमोक्र्याटिकको तर्फबाट उम्मेदवार बन्न चाहिने २३ सय ८३ प्रतिनिधिको समर्थन क्लिन्टनले पाउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । डेमोक्रेटिकको तर्फबाट क्लिन्टनसँगै बर्नी सान्ड्रेस उम्मेदवारीको होडमा हुनुहुन्छ । तर, क्लिन्टनले आवश्यक मत पूरा गरेपछि डेमोक्र्याटिकका तर्फबाट उहाँ नै उम्मेदवार बन्ने लगभग पक्का भएको बताइएको छ ।
क्लिन्टन कुनै पनि प्रमुख अमेरिकी पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो महिला हुनुहुने छ । क्लिन्टनले उम्मेदवार बन्नका लागि चाहिने प्रतिनिधि संख्या पूरा गर्नुभएको बताइए पनि अर्का दाबेदार सान्ड्रसले भने क्लिन्टनले उम्मेदवारीको दौड जितिनसकेको बताउनुभएको एपीले जनाएको छ । जितका लागि सुपर डेलिगेट्सको मत महत्वपूर्ण हुने र त्यसको जुलाईको पार्टी अधिवेशनपछि मात्रै मतदान हुने उहाँको भनाइ छ ।