विश्वकप क्रिकेट : भारतद्वारा अफगानिस्तान आठ विकेटले पराजित
असोज २५, काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत बुधबार राति भएको खेलमा भारतले अफगानिस्तानलाई पराजित गरेको छ। भारतले अफगानिस्तानलाई आठ विकेटले पराजित गरेको हो।
भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेट्ली रङ्गशालामा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७२ रन बनायो। भारतले दुई सय ७३ रनको विजयी लक्ष्य ३५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो।
भारतका कप्तान रोहित शर्माले कीर्तिमानी ब्याटिङ गरे। उनले ८४ बलमा १६ चौका र पाँच छक्कासहित सर्वाधिक एक सय ३१ रन बनाए। विश्वकपमा शर्माको यो सातौँ शतक हो। उनी विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन्। यसअघि विश्वकपमा भारतका पूर्वकप्तान सचिन तेन्दुलकरले ६ तथा श्रीलङकाका पूर्वकप्तान कुमार सङ्गाकारा र रिक्की पोन्टिङले पाँच पाँच शतक प्रहार गरेका थिए।
यस्तै भारतका लागि ईशान किशनले ४७ बलमा पाँच चौका र दुई छक्कासहित ४७, विराट कोहलीले ५६ बलमा ६ चौकासहित ५५ तथा श्रेयस अययरले २३ बलमा एक चौका र एक छक्काको मद्दतमा २५ रन बनाए।
बलिङतर्फ फगानिस्तानका राशिद खानले आठ ओभरमा ५७ रन खर्चेर दुई विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानका लागि कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा आठ चौका र एक छक्कासहित ८०, आजमतुल्लाह ओमरजाईले ६९ बलमा दुई चौका र चार छक्कासहित ६२, रहमाउल्लाह गुरबाजले २८ बलमा तीन चौका र एक छक्कासहित २१, इब्राहिम जद्रानले २८ बलमा चार चौकासहित २२, मोहम्मद नाबीले १९ तथा रहमात शाहले १६ रन बनाए।
बलिङतर्फ भारतका जस्प्रित बुमराहले १० ओभरमा ३९ रन खर्चेर चार, हार्दिक पान्ड्याले सात ओभरमा ४३ रन खर्चेर दुई तथा शार्दुल ठाकुर र कुलदीप यादवले एक एक विकेट लिए।
यसअघि पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो। अफगानिस्तान भने बङ्गलादेशसित ६ विकेटले पराजित भएको थियो। भारतले अब आफ्नो तेस्रो खेल शनिबार पाकिस्तानसित खेल्नेछ।