सामागाउँमा घोडा दौडाउन निषेध, दौडाए रु दुई हजार जरिवाना


तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तर दुर्गम सामागाउँमा घोडा दौडाउन निषेध गरिएको छ । युवाले जथाभावी गाउँभित्र घोडा दौडाउँदा बालबच्चा घाइते भएको भन्दै गाउँलेले घोडा दौडाउन रोक लगाउने निर्णय गरेका हुन् । गाउँलेको हालै सामागाउँमा बसेको भेलाले गाउँभित्र घोडा दौडाउन प्रतिबन्ध लगाएको स्थानीय मनास्लु युवा क्लबका अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो । छेवाङकाअनुसार सामागाउँमा दिनहुँ ५० भन्दा बढी खच्चड दौडाइँदै आइएको थियो । सामागाउँमा समथर चौर भएकाले घोडा घौडाउने गरिन्छ । प्रोक, ल्होलगायतका गाविसका स्थानीय पहुँचवालाले सामागाउँ ओहोरदोहोर गर्दा पनि घोडा चढेर पुग्ने गर्छन् । “युवाले साँझको बेला जथाभावी घोडा दौडाउँदा घरको आँगनमा खेलिरहेका बालबच्चा घाइते हुने क्रमः बढ्दै गयो,” स्थानीय बासिन्दासमेत रहनुभएका छेवाङ भन्नुहुन्छ – “गाउँ बाहिरका चौरहरूमा घोडा दौडाउन पाइन्छ । तर, गाउँ प्रवेश गरी दौडाए प्रतिव्यक्ति रु दुई हजार जरिवाना लिने निर्णय गरेका छाँै ।” जरिवाना लिने निर्णय गरेपछि गाउँभित्र घोडा दौडाउने युवा क्रमशः घट्दै गएको उहाँको भनाइ छ । पर्यटकको चाप बढ्दै गएको मनास्लु पर्यटन पदमार्गभित्र सामागाउँ पनि पर्छ । सामागाउँ पुगेका पर्यटकलाई स्थानीय सामागाउँ बजारमा खुलेका होटलले घोडा दौडको पनि सुविधा दिँदै आएका छन् । “आन्तरिकभन्दा विदेशी पर्यटक घोडा चढेर सामागाउँ घुम्न रुचाउँछन्,” सामागाउँको ठूलो होटल मनास्लु होटलका सञ्चालक वीरबहादुर लामाले भन्नुभयो – “पर्यटकलाई घोडा चढेर गाउँ घुम्नुभन्दा गाउँभन्दा अलि टाढाको चौरमा घोडा दौड गर्न प्रोत्साहन गर्दै आएका छौँ ।” सामागाउँ पुगेका पर्यटक भाडामा घोडा लिएर हिमशृङ्खला अवलोकन गर्न, वीरेन्द्र ताल हेर्न, घाँसेभूमिहरू अवलोकन गर्न रुचाउने होटल व्यवसायी लामाको भनाइ छ । “गाउँभित्र घोडा दौडाउन त रोक लगाइयो,” उहाँले भन्नुभयो – “साँझ झमक्क परेको बेला घोडा दौडाउँदा दुर्घटना बढ्यो ।” गाउँको बाटोमा घोडा नचढिदिनु होला’ उल्लेख गरिएको सङ्केत पाटी स्थानीय बासिन्दाले गाउँ प्रवेश गर्ने मुख्य बाटोमा राखेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?