‘सिड्नी इन्टरनेसनल २०२३’ ब्याडमिन्टनको क्वार्टरफाइनलमा नेपालका प्रिन्स मात्रै, अरू विधामा सकियो नेपालको यात्रा


कार्तिक ३, सिड्नी, अष्ट्रेलिया । नेपालका प्रिन्स दाहाल अष्ट्रेलियाको सिड्नीमा जारी ‘सिड्नी इन्टरनेसनल २०२३’ ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । शुक्रबारका लागि तय भएको खेलमा अष्ट्रेलियाका प्रतिद्वन्द्वी ज्याकोभ सुलर घाइते भएपछि वाकओभर पाउँदै प्रिन्स क्वार्टरफाइनलमा पुगेका हुन् ।

योसँगै उनी अष्ट्रेलियामा भएका २ ठूला ब्याडमिन्टन प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएका छन् । गत हप्ता भिक्टोरियाको बेन्डिगो सहरमा भएको ‘योनेक्स बेन्डिगो इन्टरनेसनल २०२३’को पनि क्वार्टरफाइनलमा पुगेका थिए ।

त्यसैगरी, शुक्रबार नै भएको प्रिक्वार्टरफाइनलको अर्को खेलमा भने नेपालका विष्णु कटुवाल पराजित भएका छन् । भारतका प्रतिस्पर्धी साहस कुमारसँग पराजित हुँदै कटुवाल बाहिरिएका हुन् । कटुवालले कुमारसँग १४-२१ र १३-२१ सोझो सेटको पराजय व्यहोरे ।

महिला तर्फ पनि प्रिक्वार्टरफाइनलमा पुगेकी नङ्सल तामाङको पनि यस प्रतियोगिताको यात्रा समाप्त भएको छ । शुक्रबारको खेलमा अष्ट्रेलियाकी सउन्ना लीसँग १०-२१ र ८-२१ को सोझे सेटमा पराजित हुँदै तामाङ बाहिरिएकी हुन् ।

वुमन्स डलबतर्फ पनि नङ्सल तामाङ र अनुमाया राइको जोडी अष्ट्रेलियन जोडीसँग सहजै पराजित भए । तामाङ र राइ अष्ट्रेलियाका फाए हुओ र भिक्टोरिया लीको जोडिसँग २१-२३ र ८-२१ को सोझो सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिए ।

त्यसै, मेन्स डबल अन्तर्गत विष्णु कटुवाल र प्रिन्स दाहालको जोडी पनि अष्ट्रेलियन प्रतिद्वन्द्वीसँग नै पराजित हुँदै बाहिरिए । अष्ट्रेलियाका यी सेन का र केन रिचार्डसनसँग पहिलो सेटमा २१-१४ अन्तरले पराजित हुँदा दोश्रो सेटमा २१-१२ को पराजय व्यहोरे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?