अमेरिकी सैनिक कार्डले गोली प्रहार गरेको आशंका
कार्तिक १०, एजेन्सी । अमेरिकी सेनाको उत्तरी राज्य मेनको एउटा सानो सहरमा १८ जनाको गोली हानी हत्या गरेको आशङ्का ४० वर्षीय सैनिक रोबर्ट कार्डमाथि गरिएको छ।
बुधबार राति लुइस्टनको एक बलिङ एल्ली र बारलाई लक्षित गरी गरिएको गोलीकाण्ड सन् २०१७ यताकै सबैभन्दा घातक गोली काण्ड हो। लस भेगासमा भीडभाड रहेकोे संगीत महोत्सवमा सन् २०१७ मा भएको आक्रमणमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा करिब ६० जनाको मृत्यु भएको थियो।
“प्रहरीले कार्डलाई हत्याको अभियोगमा पक्राउ गर्न वारेन्ट जारी गरेको छ,” मेन स्टेट पुलिसका कर्णेल विलियम रोसले बिहीबार एक पत्रकार सम्मेलनमा भन्नुभयो । प्रहरीले कार्डलाई ‘सशस्त्र र खतरनाक’ आक्रमणकारीको संज्ञा दिँदै उनीसँग नजिक नजान चेतावनी दिएको छ।
लेविस्टन पुलिस डिपार्टमेन्टले खैरो ज्याकेट र निलो कार्गो पाइन्टमा सजिएका र असॉल्ट राइफलले सुसज्जित एक दाह्री भएका व्यक्तिको तस्बिर खोजीको सूचीमा सार्वजनिक गरेको छ। सन् १९८३ मा जन्मिएका कार्ड प्रमाणित हतियार प्रशिक्षक र अमेरिकी सेनाको रिजर्भ बलका सदस्य हुन्।
अमेरिकी सेनाले एएफपीलाई कार्डको सैन्य सेवाको बारेमा विस्तृत जानकारी प्रदान गर्दै उनी आर्मी रिजर्भमा प्रथम श्रेणीको सर्जेन्ट भएको र डिसेम्बर २००२ मा भर्ती भएका तर ‘कुनै लडाईको जिम्मेवारी नपाएका बताएको छ।