विनोद आत्रेय अष्ट्रेलियाको भिक्टोरिया विश्वविद्यालयको लाइफटाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित (भिडियो)


कार्तिक १०, मेलबर्न, अष्ट्रेलिया । बैंक तथा वित्तिय क्षेत्रका विज्ञ डाक्टर विनोद आत्रेय अष्ट्रेलियाको प्रतिष्ठित भिक्टोरिया विश्वविद्यालयको अलुम्नाइ अवार्डस् – (लाइफटाइम अचिभ्मेन्ट अवार्ड)बाट सम्मानित भएका छन् । अरू विभिन्न देशका २३ प्रतिष्पर्धिलाई पछि पार्दै उनी यस प्रतिष्ठित अवार्डबाट सम्मानित भएका हुन् ।

यो अवार्ड भिक्टोरिया विश्वविद्यालय (युनिभर्सिटी)बाट अध्ययन पूरा गरि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूका लागि प्रदान गरिन्छ । यसै परिधिभित्र रहेर आत्रेयले नेपालका ठूला वित्तिय संस्था तथा बैंकमा ठूलो योगदान पुर्याएका छन् । उनी बैकिङ, फाइनन्स एण्ड इन्स्युरेन्स इन्स्टिच्युट अफ नेपाल (बेफिन)का प्रबन्ध निर्देशक समेत हुन् ।

को हुन् विनोद आत्रेय ?

आत्रेयको नेतृत्वको बेफिन वाणिज्य बैंक, विकास बैंक र लघु-क्रेडिट संस्थाहरू लगायत विभिन्न वित्तीय संस्थाहरूको समर्थनमा वित्तीय क्षेत्रभित्र क्षमता विकास गर्ने एक प्रमुख संस्थाको रूपमा प्रतिष्ठित छ ।

बेफिनमा आफ्नो भूमिका सुरू गर्नुभन्दा पहिले उनले इमर्जिङ नेपाल लिमिटेडको सीईओको रूपमा सेवा गरेका थिए । त्यसैगरी, धेरै बिमा र वित्तिय कम्पनीमा समेत उनले उच्च तहका पदहरू सम्हालेका थिए। बैकिङ क्षेत्रमा ३० वर्षभन्दा लामो अनुभव बटुलेका आत्रेयले नेपाल राष्ट्र बैंकका विभिन्न प्रमुख पदमा रहेर बैंकिङ तथा वित्त नियमन, कर्पोरेट योजना र वित्तीय समावेशीकरणमा आफ्नो विशेषज्ञता देखाइसकेका छन् ।

नेपालका वित्तीय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका डा. आत्रेयले नेपाल बाहिर समेत उत्तिकै योगदान दिएका छन् । युएनडिपीजस्ता संस्थाहरूसँग काम गरेका उनले माल्दिभ्स, मार्शल आइल्याण्ड र पलाउजस्ता देशहरूका विभिन्न परियोजनामा काम गरेका छन् । विश्वका प्रतिष्ठित जर्नलहरूमा लेख समेत प्रकाशित गरिसकेका उनलाई यो क्षेत्रका प्रतिष्ठित व्यक्तिको रूपमा परिचित गर्दै उक्त अवार्डको अन्तिम मनोनयनको पहिलो नम्बरमा राखिएको थियो ।

उनीसँगै लाइफटाइम अचिभ्मेन्ट अवार्डको अन्तिम मनोनयनमा पर्नेहरूमा लाइफलाइनका सिइओ कोलिन सिरी, कलाकार जस्टिन स्लेस, प्रोफेसर रोबिन मर्फी, रोसन्ना बाइनी ओएम, डाक्टर सेयेद सेरिफ्देन र पिपुल्सस्टोरीज च्यारिटीकी सिइओ भिक्टोरिया मिलोस्चेस्की परेका थिए । तर, विविध पक्षको मूल्यांकन गर्दा आत्रेय उक्त अवार्डबाट सम्मानित भएका हुन् ।

उनि सम्मानित भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?