युरोकप : स्वीट्जरल्यान्ड र वेल्स विजयी, इङ्ल्यान्ड र रुस बराबरीमा रोकिए


Euro Cupफ्रान्समा जारी युरो कप फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा स्विट्जरल्याण्ड र वेल्स विजयी भएका छन् ।

समुह ए अन्तर्गतको खेलमा स्विट्जरल्याण्डले अल्बानियालाई १–० ले हरायो । खेलमा स्विस टोलीलाई विजयी गराउन फाबियन शहारले निर्णायक गोल गरे । अल्बानियाका कप्तान लोरिक साना ३६ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीएपछि टोलीले अधिकांश समय १० जनाले खेल्नुपरेको थियो ।

युरोकप अन्तर्गत शनिबार राति नै भएको अर्को खेलमा वेल्सले स्लोभाकियालाई २–१ ले हराएको छ । वेल्सलाई विजयी गराउन ग्यारेथ बेल र हाल रोब्सन कानुले एक–एक गोल गरे । पराजित टोली स्लोभाकियाको लागि ओन्द्रेज डुडाले एक गोल फर्काए ।

युरोकपअन्तर्गतको अर्को खेलमा इङ्ल्यान्डलाई रुसले एक–एक गोलको बराबरीमा रोकेको छ । खेलमा इङ्ल्यान्डका एरिक डायरले पहिलो गोल गरे पनि रुसका भासीली बेरेजुस्कीले ईन्जुरी समयमा एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।

युरोकप फुटबलमा आइतबार पनि तीन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुने खेलमा टर्की र क्रोएशिया भिड्नेछन् । यसैगरी बेलुकी पौने १० बजे पोल्याण्ड र नर्दन आयरल्याण्ड भिड्दा राति पौने १ बजे जर्मनीले युक्रेनसँग खेल्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?