श्रम सुधारसम्बन्धी कानुनको विरोधमा फ्रान्समा प्रदर्शन, सुरक्षाकर्मीसँगको झडपमा ४० जना घाइते
फ्रान्समा श्रम सुधारसम्बन्धी कानुनको विरोधमा हजारौं मजदुरले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा ४० जना घाइते भएका छन् । घाइते हुनेमा २९ प्रहरी छन् ।
प्रदर्शनका क्रममा करिब ६० जनालाई गिरफ्तार गरिएको छ । राजधानी पेरिसमा भेला भएका हजारौं प्रदर्शनकारीले सरकारबिरुद्ध नारा लगाउँदै शहरको परिक्रमा गरेपछि यातायात सेवा समेत प्रभावित बनेको थियो । प्रदर्शनमा ट्याक्सी चालकदेखि विभिन्न क्षेत्रमा कार्यरत मजदुर सहभागी रहेको बताइएको छ ।
प्रदर्शनका कारण प्रख्यात आइफल टावरसमेत बन्द गर्नु परेको जनाइएको छ । फ्रान्समा श्रमसम्बन्धी कानुन तल्लो सदनले पारित गरेपछि माथिल्लो सदनले अनुमोदन गर्न बाँकी रहेकै बेला यसको विरोधमा प्रदर्शन भएको हो । प्रदर्शनकै कारण फ्रान्समा जारी युरो कपमा समेत असर पर्न सक्ने भएकाले सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । प्रदर्शनकारीहरुले भने उक्त प्रस्ताव फिर्ता नभएसम्म प्रदर्शन जारी राख्ने जनाएको छ ।