एएनएमसीले अष्ट्रेलियाको संघीय सरकारबाट पायो ५ लाख डलर अनुदान
मंसिर १, काठमाडौँ । अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टर (एएनएमसी) अष्ट्रेलियाको केन्द्रीय सरकारबाट ५ लाख डलर अनुदान प्राप्त गरेको छ। मेलवर्नको डिगर्स रेष्टमा बनाउन लागेको नेपाली मन्दिरसहितको बहुसांस्कृतिक केन्द्रलाई सुरक्षाको निम्ती संघीय सरकारले उक्त रकम दिन लागेको हो।
एएनएमसीका अध्यक्ष गान्धी प्रसाद भट्टराईले अष्ट्रेलियाको संघीय सरकारमार्फत ५ लाख डलरको आर्थिक सहयोग प्राप्त भएको पुष्टि गरेका छन्। उक्त रकमले एएनएमसीको मन्दिरमा गेट, तारबार, सिसिटिभी क्यामेरा, सुरक्षा गार्ड लगायतमा खर्च गरिने अध्यक्ष भट्टराईले बताए। मन्दिरमा नियमित पूजाआजा सञ्चालनको र पुजारीको पारिश्रमिकका निम्ती खर्च गर्ने गरी उक्त आर्थिक सहयोग प्राप्त भएको उनको भनाइ छ।
उनले उक्त रकम अबको २०२७ सम्म खर्च गर्ने गरी चरणबद्ध रुपमा प्राप्त गर्न सकिने बताएका छन्। उनले अष्ट्रेलियन सरकार तथा उक्त रकम प्राप्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
एएनएमसीले बहुसांस्कृतिक केन्द्र निर्माणका लागि गत महिना मेलवर्न सप्ताह–२ को आयोजना गरेको थियो। उक्त सप्ताहबाट ७ लाख डलर भन्दा बढी रकम संकलन भएको थियो।