चीनमा शक्तिशाली भूकम्प : एक सय ११ जनाको मृत्यु, विद्युत र पानी आपूर्ति अवरुद्ध
पुस ३, एजेन्सी। नेपालको उत्तरी छिमेकी देश चीन्मा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १११ पुगेको छ। चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाईमा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको तीव्रता ६.२ रिक्टर स्केलमा मापन गरिएको छ । भूकम्पको गहिराई १० किलोमिटर रहेको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण गान्सुमा १०० जनाको मृत्यु भएको छ भने छिङहाइमा ११ जनाको मृत्यु भएको छ। त्यसैगरी गान्सुमा ९६ र छिन्घाईमा १२४ जना घाइते भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ५ दशमलव ९ मापन गरिएको छ । भूकम्पका कारण धेरै क्षति भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । खानेपानी र बिजुलीको व्यवस्था ठप्प भएको छ। यातायात र सञ्चार पूर्वाधारमा ठूलो क्षति पुगेको छ।
गान्सुको राजधानी लान्झाउमा भूकम्पको धक्का महसुस हुनेबित्तिकै विश्वविद्यालयका विद्यार्थीहरू छात्रावासबाट बाहिर निस्किएका थिए। उद्धार टोली घटनास्थल पुगेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उद्धार कार्य सुरु गरिएको छ। टेन्ट, फोल्डिङ बेड र रजाई घटनास्थलमा पु¥याइएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। यससँगै उनले मृत्यु हुनेको संख्या घटाउने उपाय अपनाउन निर्देशन पनि दिएका छन् । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार जारी छ।
भूकम्प किन आउँछ?
पृथ्वी भित्र ७ वटा प्लेट छन्, जो निरन्तर घुमिरहन्छन्। यी प्लेटहरू ठोक्किने क्षेत्रलाई फल्ट लाइन भनिन्छ । बारम्बार टकरावको कारण प्लेटका कुनाहरू झुकेका छन्। दबाव धेरै बढ्दै जाँदा पृथ्वीमा रहेका प्लेटहरू दबिन थाल्छन् र तलको ऊर्जाले बाटो खोज्छ र कम्पन हुँदा भूकम्प आउँछ ।